स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिन्छु भनी ठगी गर्नेे पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Thursday, 21 May 2020

स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिन्छु भनी ठगी गर्नेे पक्राउ

काठमाडौँ, ८ जेठ : नेपाल प्रहरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विभिन्न पदमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीको महानगरीय अपराध महाशाखाले आफू सशस्त्र प्रहरी बलको प्रहरी नायब उपरीक्षक भएको र स्वास्थ्य मन्त्रालयमा जागिर लगाउन सक्ने भन्दै ठगी गर्ने तारकेश्वरका ४५ वर्षीय राजकुमार चापागाईंलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले पक्राउ परेका चापागाईंले स्वास्थ्य मन्त्रालयको खरिदार, रिसेप्सनिष्ट, सहायक लेखापालजस्ता महत्वपूर्ण पदमा जागिर लगाइदिन्छु भनी विभिन्न व्यक्तिसँग लाखौँ रुपैयाँ ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । 

काठमाडौँ पेप्सीकोलाका सम्झना केसी भट्टराईसँग रु एक लाख २० हजार लिँदै गरेको अवस्थामा चापागाईंलाई पक्राउ गरेको महाशाखाले जनाएको छ । “पक्राउ व्यक्ति यसअघि पनि ठगी गरेको कसुरमा चार वर्ष नख्खु कारागारमा कैद भुक्तान गरेको अनुसन्धानमा खुल्न आएको छ”, प्रवक्ता कार्कीले भन्नुभयो । 

यसअघि पक्राउ पर्दा चापागाईंले आफू उच्चपदस्थ व्यक्तिको पिए भनी कारागार तथा प्रमुख जिल्ला अधिकारीलाई फोन गरी कैदी रिहा गर्न आदेश दिने गरेको अनुसन्धानमा खुलेको छ । आर्मी स्कुलमा बच्चा भर्ना गराइदिन्छु भनी विभिन्न व्यक्तिलाई प्रलोभनसमेत दिने गरेका थिए । पक्राउ परेका चापागाईंसँग प्रहरीले सशस्त्र प्रहरी बलको प्रहरी नायब उपरीक्षकको नक्कली परिचयपत्र एक थान, खरिदार पदको नक्कली परिचयपत्र एक थान, स्कुटर एक थान, मोबाइल एक थान, सिमकार्ड तीन थान र रु एक लाख २० हजार नगद बरामद गरेको छ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.