काठमाडाैँ, १६ असार : नेकपाकाे स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिल्लीले हटाउन खोजेको अभिव्यक्तिको पुष्टि गर्न माग गरेका छन् ।
केहि दिनअघि प्रधानमन्त्री ओलीले दिल्ली र नेपालका केही शक्तिले आफूलाई हटाउने षड्यन्त्र गरेको बताउनुभएको थियो । बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकजी श्रेष्ठ, स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, वेदुराम भुसाल र मुकुन्द न्यौपानेले प्रधानमन्त्रीबाट गम्भीर अभिव्यक्ति आएको भन्दै त्यसका आधार के हुन् स्पष्ट पार्नुपर्ने माग गरेका हुन् ।
बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिल्लीले भनेको कुरा आफूलाई थाहा नभएको तर पार्टी र सरकार ठिक ढङ्गले सञ्चालन नभएकाले आफूले नै प्रधानमन्त्रीको राजीनामा मागेको बताउनुभयो । उहाँले दुई तिहाइको सरकार हुँदा पनि नागरिकले परिवर्तन अनुभुति गर्न नपाएको र पार्टीमा पनि 'ओली दम्भ' देखिएकाेले अब राजीनामा नै उत्तम विकल्प भएको बताएको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।
यस्तै नेता झलनाथ खनाल र वामदेव गौतमले पनि प्रधानमन्त्रीले सार्वजनिक रुपमै दिल्लीले आफूलाई हटाउन खोज्यो भन्नु सामान्य कुरा नभएकाले यसको जवाफ दिन माग गर्नुभएको छ ।
‘प्रचण्डजी ले त सिधै प्रधानमन्त्रीको राजीनामा नै माग्नुभयो, झलनाथ र वामदेव कमरडेले दिल्लीको विषयमा प्रधानमन्त्रीले बोलेको कुराको सत्य तथ्य माग गर्नुभएको छ, उहाँहरुले पनि ओलीले ठिक तरिकाले पार्टी र सरकार नचलाएकाले छाड्दिँदा नै ठिक हुने कुरा राख्नुभएको छ’, एक स्थायी कमिटी सदस्यले जानकारी दिनुभयाे।
त्यसपछि प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गर्दा गर्दै पनि घेराबन्दी भएको घुमाउरो जवाफ दिएको एक नेताले जानकारी दिनुभयाे । उहाँका अनुसार प्रधानमन्त्री ओलीले पार्टीको आन्तरिक बैठकमा भएका कुराहरु भारतीय सञ्चारमाध्यममा कसरी आए भनेर उल्टै प्रश्न गर्नुभएकाे थियाे ।
तत्कालीन एमाले महासचिव मदन भण्डारीको ६९ औं जन्मजयन्तिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आईतबार बालुवाटारबाटै नक्सा जारी गरेवापत भारतीय राज्यसंयन्त्र, पार्टीकै नेता र दुतावास आफूलाई हटाउन सक्रिय भएको बताएका थिए ।

No comments:
Post a Comment