काठमाडौँ, ९ असार : सांसद महेन्द्र राय यादवले सत्तारुढ नेकपाले नागरिकताका विषयमा विगतमा भएको सहमति उल्लङ्घन गरी गलत संस्कार स्थापित गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले २०६२/६३ को दोस्रो जनान्दोलनपछि तत्कालीन प्रमुख राजनीतिक दलबीच नागरिकताका सम्बन्धमा भएको सहमतिअनुसार नै नागरिकताको प्रावधान कायम राख्न आग्रह गर्नुभयो । उहाँले सरकारले तराई– मधेशका नागकिरलाई अन्याय गर्न खोजेको र वैवाहिक सम्बन्धलाई समेत खलल पार्न खोजेको आरोप लगाउनुभयो । सांसद प्रदीप यादवले युगौँयुगदेखि चल्दै आएको सांस्कृतिक एवं धार्मिक सम्बन्धलाई खलल पार्न खोजेको आरोप लगाउँदै नागरिकताका सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिले गरेको निर्णय सच्याउन माग गर्नुभयो । वैवाहिक अङ्गीकृत नागरिकताका सम्बन्धमा राखिएको सात वर्षको प्रावधान अव्यावहारिक च भन्दै उहाँले गलत मनसायका साथ राखिएको व्यवस्था सच्याउन सरकारको ध्यानकर्षण गराउनुभयो ।
सांसद दामोदर भण्डारीले कोरोना नियन्त्रणका लागि सरकारले आवश्यक बजेट, साधन र स्रोतको व्यवस्था गरेको भए पनि केही राजनीतिक दलले राजनीतिक स्वार्थसिद्ध गर्ने ध्येयका साथ गलत प्रचार गरेको आरोप लगाउनुभयो ।
सरकारको तथ्याङ्कानुसार नै नेपाल भारत सीमाबाट करीब सात लाख नागरिक देशभित्र भित्रिएका कारण व्यवस्थापन गर्न केही समय लागेको तथ्य भुलेर अनावश्यक तर्क गरिएकामा आपत्ति प्रकट गर्नुभयो ।
सांसद प्रेम सुवालले एसइई परीक्षाका विषयमा हालसम्म पनि अन्योल कायम रहनु दुःखद् हो भन्दै नियमित रुपमा मूल्याङ्कन गर्ने प्रणाली नहुँदाको परिणाम भएको उल्लेख गर्नुभयो । उहाँले नेपालको आफ्नै विद्युत् प्रयोग गरी रासायनिक मल कारखाना स्थापना गर्नेतर्फ ध्यान दिन, घरायसी प्रयोगमा हुने विद्युत् सहज रुपमा उपलब्ध गराउन र ग्यास खरीद गर्दा विदेशीले रकम देशभित्रै राख्ने वातावरण बनाउन आग्रह गर्नुभयो । कोरोना नियन्त्रणका लागि सरकारले खर्च गरेको रकममा चर्को भ्रष्टाचार भएको आरोप लगाउँदै सांसद सुवालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीले सदनलाई सत्यतथ्य जानकारी गराउनुपर्ने बताउनुभयो ।
सांसद डिला सङ्ग्रौलाले कोरोना नियन्त्रणका लागि सरकार संवेदनशील नभएकोर क्वारेन्टिन व्यवस्थापनमा ध्यान नदिएको तथा हरेक क्षेत्रमा चरम भ्रष्टाचार भएको आरोप लगाउनुभयो । राज्य समस्यामा परेको समयमा समेत सरकार तथा सरकारी निकाय चरम भ्रष्टाचारमा लागेको दोषापरोण गर्दै उहाँले भन्नुभयो, “कोरोनाभन्दा सबैभन्दा ठूलो रोगका रुपमा भ्रष्टाचार देखियो ।” उहाँले सरकारले स्थापना गरेको क्वारेन्टिनमा नै महिलामाथि दुव्र्यवहार र बलात्कारका घटना बढेको भए पनि अपराधमा संलग्नलाई कारवाही नभएकामा आपत्ति प्रकट गर्नुभयो ।
सांसद पार्वती बिसुङ्खेले दैलेखमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले साधन र स्रोतको व्यवस्थापन गर्न सरकारको ध्यानकर्षण गराउनुभयो । सांसद केदार सिग्देलले कृषि उपजको उतपादनमा विशेष ध्यान दिन, देशभरका चिनी मिल चल्ने वातावरण बनाउन र कृषकलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन आग्रह गर्नुभयो । (रासस)

No comments:
Post a Comment