काठमाडौँ, ९ असार : सांसद हेमकुमार राईले सोलुखुम्बुमा निरन्तर जनप्रतिनिधिमाथि आक्रमण र दुव्र्यवहार गरिएको जनाउँदै तत्काल दोषीलाई कानूनी कारवाही गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले जनप्रतिनिधिमाथि आक्रमण गर्नेले नै जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई समेत अपहरण गरी ज्यान मार्ने धम्की दिएर गलत तवरले कागजात गराएको आरोप लगाउँदै दोषीहरु खुला हिँडिरहेको भए पनि कारवाही हुन नसकेको भनी आपत्ति जनाउनुभयो ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा गत जेठ ३२ गते आफ्नै कार्यकक्षमा रहिरहेका अवस्थामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमाथि केही व्यक्तिले हातपात र दुव्र्यवहार गरेको उहाँले आरोप लगाउनुभयो । गाउँपालिकाको निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालयबाट दुव्र्यवहारमा संलग्नलाई पक्राउ गरी सत्यतथ्य छानबिन गरेर कारवाहीको दायरामा ल्याउने प्रक्रिया शुरु भएको सांसद राईको भनाइ छ । “आफ्नो कार्यकक्षमा जनताको काम गरिरहेका अवस्थामा जनप्रतिनिधिमाथि दुव्र्यवहार हुनु निन्दनीय छ”, उहाँले भन्नुभयो, “यसलाई कुनै पनि हालतमा स्वीकार्न सकिँदैन ।”
यसैगरी सोलु दूधकुण्ड नगरपालिकाको बैठक बसिरहेका अवस्थामा उपप्रमुखमाथि पनि दुव्र्यवहार भएको उहाँले बताउनुभयो । एकपछि अर्को जनप्रतिनिधिमाथि दुव्र्यवहार, हातपात र गालीगलोज हुनु निन्दनीय छ भन्दै सांसद राईले विशुद्ध आपराधिक घटनालाई कुनै पनि राजनीतिक दलले राजनीतिक रङ दिने क्रियाकलाप स्वीकार्य नभएको बताउनुभयो । “जनप्रतिनिधि र सम्पूर्ण जनताको सुरक्षा गर्न सरकारले सुरक्षा संयन्त्रलाई सक्रिय बनाउनु जरुरी छ, अराजक र उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न माग गर्दछु”, उहाँले भन्नुभयो ।
सांसद अमेरशकुमार सिंहले सर्लाही रामनगरका रामजनम रायको बेवारिसे शव फेला परेको घटनाका सम्बन्धमा प्रहरीले राजनीतिक दबाबमा निर्दोष व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाएको भनी आपत्ति जनाउँदै निष्पक्ष छानबिनको व्यवस्था गर्न माग गर्नुभयो । कानूनी राज्यअनुसार सरकार र सरकारी संयन्त्र चल्न नसकेको जनाउँदै उहाँले नेपाल प्रहरीलाई दलविशेषको सेवामा परिचालन गरिएको आरोप लगाउनुभयो । (रासस)

No comments:
Post a Comment