काठमाडौँ, ७ असार : आषाढ कृष्ण औँसीका दिन आज बिहान १०ः५० बजेदेखि खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागिरहेको छ । बिहान १०ः५० बजे स्पर्श भएको सूर्यग्रहण मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे मोक्ष प्राप्त गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिनेछ ।
तस्वीर हेर्नुहाेस् :
 |
| काठमाडौँको स्वयम्भूबाट आइतबार देखिएको सूर्यग्रहण |
 |
| काठमाडौँको स्वयम्भूबाट आइतबार देखिएको सूर्यग्रहण |
 |
| भक्तपुरको मध्यपुर थिमिबाट आइतबार बिहान ११ः१५ मा देखिएको सूर्यग्रहण । |
शास्त्रीय मान्यताअनुसार शनिबार राति १०ः५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरीमा र यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । आजको सूर्यग्रहण मृगशिरा र आद्र्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने समितिका सदस्यसचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो ।
वैज्ञानिक मूल्यमान्यताअनुसार सुरक्षित तरिकाले सबैले ग्रहण हेर्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । यसपटकको सूर्यग्रहण भारतको उत्तराखण्डबाट ३८ मिनेटसम्म बलयाकारको देखिन्छ । सोसाइटीले युट्युब च्यानलमार्फत अहिले ग्रहणको प्रत्यक्ष प्रसारण गरिरहेको छ । सूर्य, चन्द्रमा र पृथ्वी सिधा रेखामा हुँदा पृथ्वीमा चन्द्रमाको छायाँ पर्ने भएकाले सूर्यग्रहण लाग्ने सोसाइटीले जनाएको छ ।
प्रदेश नं १ बाट सन् १९६५ नोभेम्बर २३ तारिखका दिन बिहान बलय (पूरै सूर्य ढाक्ने) सूर्यग्रहण लागेको थियो । अब बलय सूर्यग्रहण सन् २०६४ फेब्रुअरी १७ मा प्रदेश नं १ कै दक्षिणपूर्वी भूभागबाट देखिने उहाँले सुनाउनुभयो । आजको सूर्यग्रहण विश्वका केही भागबाट पूरै ढाके पनि नेपालबाट भने आधा ढाक्ने अर्थात् खण्डग्रास मात्र देखिनेछ । नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिने जनाइएको छ ।
No comments:
Post a Comment