काठमाडौं, १७ असार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा शुरुभएको छ । विहान ११ बजेदेखि बैठकको समय निर्धारण भएको भए पनि दुई अध्यक्षबीचको परामर्शले केही समय ढिला भएको बालुवाटार स्रोतले बताएको छ ।
जारी नेकपाको स्थायी कमिटी बैठकमा मंगलबार नेताहरुबीच गम्भीर बहस भएपछि बुधबार विहान दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आन्तरिक छलफल भएको हो । स्थायी कमिटी बैठकअघि अध्यक्ष प्रचण्ड बालुवाटारमा पुगेर अर्का अध्यक्ष ओलीसँग परामर्श गर्नुभएको प्रचण्डकाका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।
दुई अध्यक्षबीचको परामर्शपछि बैठक शुरुभएकाले आजको बैठक सौहाद्रपूर्ण ढङ्गले चल्ने विश्वास गरिएको छ । बैठकमा दुवै अध्यक्षको सहभागिता रहेको सापकोटाले बताउनुभयो ।
पार्टीको बैठक कार्यसूचीमा नेताहरु बोल्नेक्रम जारी रहे पनि मंगलबारको बैठक एजेण्डाबाहिर गएर छलफल भएको थियो । पार्टीको आन्तरिक एकता प्रक्रिया र मिलिनियम च्यालेन्च कर्पोरेशन (एमसीसी) बारे अझै नेताहरुले बोल्नेक्रम जारी छ ।
बैठकअघि बुधबार विहान प्रधानमन्त्रीले केही मन्त्रीहरुसँग पनि परामर्श गर्नुभएको थियो । बालुवाटारमा भएको मन्त्रीहरुसँगको छलफलमा सबैको भावना र विचार सुनेर पार्टी निर्णय अनुसार अगाडि बढ्न सुझाव दिनुभएको एक मन्त्रीले जानकारी दिनुभयो ।

No comments:
Post a Comment