नेकपा विवाद : दुई अध्यक्षबीचको वार्ता सकियो, भोलि फेरि वार्ता हुने - pharaksandesh.com

मुख्य समाचार


Sunday, 5 July 2020

नेकपा विवाद : दुई अध्यक्षबीचको वार्ता सकियो, भोलि फेरि वार्ता हुने

काठमाडाैँ, २१ असार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवाद समाधान गर्न प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा अ‍ोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको वार्ता सकिएको छ । करिब दुई घण्टा चलेको वार्ता सकारात्मक भएको बुझिएको छ । दुई अध्यक्षबीच सहमतिको साझा विन्दु खोज्ने प्रयासस्वरुप भएको वार्ता २ः१५ बजे सकिएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले बताउनुभयो ।

अध्यक्षहरूसँग महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ र स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ को पनि सहभागिता थियो । 

वार्तामा सहभागी नेकपाका नेता जनार्दन शर्मा प्रभाकरले सोमबार दुबै अध्यक्षबीच पुनः वार्ता हुने गरी आजको छलफल सकिएको जानकारी दिनुभयाे। सबै विषयमा खुलस्त कुरा भएको र छलफल सकारात्मक दिसातर्फ अघि बढेको शर्माले बताउनुभयाे । 

सोमबार नेकपाको स्थायी समिति बैठक पनि बस्दैछ । स्थायी समिति बैठक अघि दुबै अध्यक्षबीच फेरि वार्ता हुने तय भएको हो ।

यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपाका अध्यक्ष दाहाल तथा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले भेटवार्ता गर्नुभएको थियो । नेकपामा विवाद बढेपछि यही असार १८ गतेको पार्टीको स्थायी कमिटीको बैठकले शीर्ष तहमा अनौपचारिक छलफलका लागि केही दिन बैठक स्थगन गरी असार २१ गतेका लागि तोकेको थियो । अध्यक्षद्वयबीच असार १९ गते भएको छलफल सकारात्मक भए पनि निष्कर्ष ननिस्केकाले आज पुनः छलफल भएको हो । 

यही असार १० गतेदेखि चालू स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरू भित्रभित्र लागेको भनी प्रधानमन्त्री ओलीले दिएको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि नेताहरुबीचको दूरी बढेको हो । यी नयाँ विषयले पूर्वानिर्धारित कार्यसूची प्रभावित हुँदै आएका छन् । साथै यही असार १८ गते सरकारले सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य गराएको विषय पनि नेकपामा विवादित बनेको छ ।

संसद् नभएका स्थितिमा राजनीतिक दलसम्बन्धी खारेज भएको अध्यादेश पुनः ब्युँतने संशय पैदा हुँदा हाल त्यस्तो योजना नरहेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभएको छ । अध्यक्ष दाहालले पनि राष्ट्रपतिसँगको भेटमा परामर्शविना कुनै अध्यादेश जारी नगर्न आग्रह गर्दै आउनुभएको छ । 

यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्शा जारी गरेवापत सरकार हटाउन भारतीय पक्ष र देशभित्रैबाट पहल भए पनि नक्शा छापेवापत सरकार परिवर्तन हुने नेपालको राष्ट्रियता त्यति कमजोर नभएको अभिव्यक्ति दिनुभएको थियो । स्थायी कमिटीमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसिसी कम्प्याक्ट(सम्झौता) लगायत कार्यसूची छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.