ओली–प्रचण्डकाे छलफल सकियाे, भाेलि फेरि वार्ता हुने - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 7 July 2020

ओली–प्रचण्डकाे छलफल सकियाे, भाेलि फेरि वार्ता हुने

काठमाडाैँ, २३ असार : पछिल्लाे समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवादमा अल्झिएकाे छ । यही विवादमा सहमति खोज्न प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबारकाे छलफल सम्पन्न भएको छ । 

नेकपामा आन्तरिक विवाद बढेपछि यही असार १८ गतेको पार्टीको स्थायी कमिटीको बैठकले शीर्ष तहमा अनौपचारिक छलफलका लागि केही दिन बैठक स्थगन गरी असार २१ गतेका लागि तोकेकामा पुनः स्थगन भइ यही असार २४ गतेका लागि तोकिएको छ । अध्यक्षद्वयबीच असार १९ गते अन्य केही नेतासहित भएको छलफल सकारात्मक भएपछि दैनिकजसो भेटवार्ता चलिरहेको छ ।

झण्डै तीन घण्टा लामो चलेको वार्ता सकारात्मक भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो । दुई अध्यक्षबीच बुधबार बिहान फेरि वार्ता हुने उहाँले जानकारी दिनुभयो । भोलि बिहान ११ बजे नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा बस्दैछ ।

यही असार १० गतेदेखि सुरु भएकाे स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेता भित्रभित्र लागेको भन्ने प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि नेताहरुबीचको दूरी बढेको हो । यी नयाँ विषयले पूर्वानिर्धारित कार्यसूची प्रभावित हुँदै आएका छन् ।

साथै यही असार १८ गते सरकारले सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य गराएको विषय पनि नेकपामा विवादित बनेको छ । संसद् नभएको स्थितिमा राजनीतिक दलसम्बन्धी खारेज भएको अध्यादेश पुनः ब्यूँतने संशय पैदा हुँदा अहिले त्यस्तो योजना नरहेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभएको छ । अध्यक्ष दाहालले पनि राष्ट्रपतिसँगको भेटमा परामर्शविना कुनै अध्यादेश जारी नगर्न आग्रह गर्दै आउनुभएको छ । 

यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेबापत सरकार हटाउन भारतीय पक्ष र देशभित्रैबाट पहल भए पनि नक्सा छापेबापत सरकार परिवर्तन हुने नेपालको राष्ट्रियता त्यति कमजोर नभएको अभिव्यक्ति दिनुभएको थियो । स्थायी कमिटीमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसीसीलगायत कार्यसूची छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.