ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप - pharaksandesh.com

मुख्य समाचार


Saturday, 4 July 2020

ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप

ललितपुर, २० असार : ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । काठमाण्डौ–तराई फास्ट ट्र्याकको जेरो प्वाइन्ट मानिएको खोकनाको खुदोल फाँटमा साङ्केतिक रुपमा धान रोप्न पुगेका किसानलाई प्रहरीले अश्रु ग्यास र लाठीचार्ज गरेर हटाएको छ ।

गएकाे असार १५ गते पनि साङ्केतिक रोपाइँको लागि पुगेका किसानलाई प्रहरीले हटाएपछि आज काठमाण्डौका विभिन्न ठाउँबाट समेत किसानहरु विरोधको लागि खोकना पुगेका थिए ।

आज रुद्रायणी मन्दिरमा भेला भएर ट्रयाक्टर, कुटो, काेदालोसहित खुदोल फाँटमा पुगेका किसानले प्रहरीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई हटाएको हाे ।

सरकारले खुदोल फाँटलाई फास्ट ट्र्याकको जेरो प्वाइन्ट घोषणा गरेकाेले जग्गाको मुआब्जा लिन आउन किसानलाई आग्रह गरेको छ तर किसानहरुले फाँटमा फास्ट ट्र्याक बनाउँदा खोकनाको सभ्यता विनाश गर्न हुने भन्दै विरोध गर्दै आएका छन् । 

किसानहरुले संयुक्त रुपमा धान रोपाइँ गर्न थालेपछि बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रहरीले धान रोप्न नदिएपछि उनीहरुले नाराबाजी सुरु गरेका थिए ।

उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु किसानको समर्थनमा खोकना पुगेर धान रोप्न सुरु गरेका थिए । ‘फास्ट ट्र्याक चाँहिदैन किसान मार्न पाइँदैन’, ‘भूमाफिया होसियार’, ‘सम्पूर्ण किसान एक होउ’ भन्ने नारा लगाएर प्रहरीलाई ढुङ्गामुढा प्रहार गरेपछि झडपको अवस्था आएको हो ।

बाहिरी चक्रपथ, काठमाण्डाै–तराई द्रुत मार्ग र मातातीर्थ—भक्तपुर १३२ केभी प्रसारण लाइन खोकना हुँदै बनाउने योजना सरकारले अघि सारेपछि स्थानीयले विरोध गरिरहेका हुन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.