दाङ, २१ साउन : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा दिनुको साटो व्यापार गरिरहेको आरोप लगाउनुभएकाे छ । दुईवटा पीसीआर मेसिन हुँदा पनि विभिन्न बहानामा स्वाब परीसणमा आनाकानी गर्नु गैरजिम्मेवार काम भएको उहाँले बताउनुभयाे ।
जिल्ला समन्वय समितिको चौथो सभालाई बुधबार घोराहीमा सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रतिष्ठान स्वास्थ्य सेवाभन्दा व्यापारमा केन्द्रित हुनु गलत भएको बताउनुभयाे । प्रतिष्ठानले यसअघि प्रतिव्यक्ति ५ हजार ५ सयका दरले कोरोना परिक्षण शुल्क तिर्न माग गर्दै जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गरेको थियो । स्थानीय तहले शुल्क तिर्न नमानेपछि प्रतिष्ठानले स्वाब परीक्षण रोकिदिएको थियो । अहिले पनि पीसीआर मेसिनको रकम तिर्न नसकेको बहाना गरेर प्रतिष्ठानले नागरिकको स्वास्थ्यमा खेलबाड गरेको मुख्यमन्त्री पोख्रेलले बताउनुभयाे ।
पीसीआर मेसिन सरकारले उपलब्ध गराएको र कोरोना जाँचको खर्च सरकारले बेहोर्दा पनि स्थानीय तहसँग शुल्क माग्नु गैरजिम्मेवार काम भएको पोख्रेलले बताउनुभयाे । ‘प्रतिष्ठानको ध्यान स्वास्थ्य सेवा र शिक्षातर्फ केन्द्रित हुनुपर्नेमा व्यापारतर्फ भइरहेको छ । यो राम्रो कुरा होइन,’ उहाँले भन्नुभयाे, ‘कोरोना परीक्षणको सम्पूर्ण खर्च सरकारले बेहोरिरहेको छ । स्थानीय तहसँग माग्ने नै होइन । यसरी व्यापार गर्नु गलत काम भयो ।’
स्वास्थ्य सेवामा राजनीति गर्न नहुने उहाँले बताउनुभयाे । प्रतिष्ठानका पदाधिकारी अनावश्यक राजनीति गर्नुभन्दा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने उहाँकाे धारणा छ । मुख्यमन्त्री पोख्रेलले बुधबार घोराहीस्थित सर्वोदय पुस्तकालय र घरेलु तथा साना उद्योग कार्यालय भवनको पनि उद्घाटन गर्नुभएकाे थियाे ।

No comments:
Post a Comment