कोभिड-१९ संक्रमित हुनबाट बच्ने उपायहरु - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 5 August 2020

कोभिड-१९ संक्रमित हुनबाट बच्ने उपायहरु

सुरुङ्गा, २१ साउन : विश्वव्यापी महामारीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण विस्तार नहोस् भनेर सरकारले ताेकेका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेकाे छ । तर पछिल्लो समयमा मानिसको लापरवाही बढ्दो छ । मास्क नलगाई हिँड्ने जमात देखिन थालेको छ । प्रशासनले सुरक्षा मापदण्ड अपनाएको छ छैन भन्ने बारेमा नियमित अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा व्यवसाय सञ्चालकले मापदण्ड प्रयोग गरेको पाइएको छैन । नागरिक पनि कोरोना सकिएको जसरी खुलमखुला हिँडिरहेका छन् । सामान्य रुघाखोकी जसरी मानिसले कोभिड–१९ लाई हेल्चेक्र्याइँ गरेको पाइएको छ । यस्ता क्रियाकलापले जाेखिम बढिरहेकाे छ । 

यस्ताेमा कोभिड-१९ संक्रमित हुनबाट बच्ने उपायहरु यस प्रकार छन्:
१) हातको नङ हप्तै पिच्छे काट्नुहोस् । आफ्नो हात समय समयमा साबुन पानीले कम्तिमा २० सेकेण्ड सम्म हत्केला, हत्केलाको पछाडि, औलाको काप, नङ र नाडीसम्म मिचिमिचि धुनुहोस् । बाहिर गएर घरमा प्रवेश गर्ने बित्तिकै घरभित्रका कुनै पनि बस्तु नछोइकन सबैभन्दा पहिले साबुनपानीले हात धुने बानी बसाल्नुहोस्। साबुनपानीको सट्टा ७० प्रतिशत भन्दा माथि अल्कोहलको मात्रा भएको सेनिटाइजर हत्केला, हत्केलाको पछाडि, औँलाको काप, नङ र नाडीसम्म मिचिमिचि दल्नुहोस् । साबुनपानी वा सेनिटाइजरले हातमा टाँसिएर रहेका भाइरस हाम्रो नाक मुखमार्फत शरीरमा प्रवेश गर्नुभन्दा पहिले नै मार्ने काम गर्दछ र संक्रमण हुनबाट बचाउँछ ।

२) अन्य मानिसहरुसँग कुरा गर्दा वा बाटोमा हिँड्दा वा बिशेष कामको लागि लाइनमा उभिँदा, चौतारामा बस्दा वा कुनै कार्यालयको प्रतिक्षालयको बेन्चमा बस्दा वा कार्यालयको कार्यकक्षमा बस्दा आफू र अर्को व्यक्तिको बीचमा कम्तिमा दुई मिटरको दूरी कायम गर्नुहोस् । किनभने, तपाईँको नजिकै (दुई मिटर भन्दा नजिक) को व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा वा बोल्दा उसको मुखबाट निस्किने थुकका सानासाना छिटाहरु तपाईँको नाक र मुखसम्म आइपुग्छन् । यस्तो अवस्थामा तपार्इँलाई रोग सर्न सक्ने सम्भावना प्रवल रहन्छ ।

३) भिडभाड भएको ठाउँ (हाट, बजार, बैंक, पसल, अस्पताल, भोज-भतेर, जन्ती, मलामी, पुजा-पाठ हुँदै गरेको ठाउँ, साँघुरो बाटो, इत्यादि) मा नजानुहोस् । भिडभाड भएको ठाउँमा तपार्इँ र अर्को व्यक्तिको बीचमा छ फिटको दूरी कायम राख्न मुस्किल पर्छ । यस्तो अवस्थामा तपाई संक्रमित व्यक्तिको छेउमा पुग्ने सम्भावना रहन्छ । जसले गर्दा तपाईँलाई रोग सर्न सक्ने संभावना हुन्छ । त्यसैले, यस्ता ठाउँमा सकेसम्म नजाने वा जानै परेको खण्डमा मुख र नाक मास्कले राम्ररी छोपेर मात्र जानुपर्छ ।

४) हातले नाक, मुख र आँखा बारम्बार नछुनुहोस् । तपाईँको हातले कोरोना भाइरस भएको सतह (कोभिड-१९ बाट संक्रमित व्यक्तिले छोएको भर्‍याङ, रेलिङ, कुर्सि, झ्याल-ढोकाको खिड्की (छिस्केनी) र ह्यान्डल, इत्यादि) मा छोएको हुन सक्छ, जहाँबाट तपाईँको हातमा कोरोना भाइरसको जीवाणु सर्न सक्छ । यस्तो अवस्थामा तपाईँको हातले नाक, मुख वा आँखा छुँदा तपाईँलाई कोभिड-१९ को संक्रमण हुन सक्छ ।

५) आफू र आफ्नो परिवारका मानिसहरुको श्वास प्रश्वाससँग सम्बन्धित सरसफाइमा ध्यान दिनुहोस् । खोक्दा र हाच्छिउँ गर्दा आफ्नो मुख र नाकलाई सफा रूमालले वा टिस्यु पेपरले छोप्ने बानी बसाल्नुहोस् । परिवारका सदस्यहरुलाई पनि त्यसै गर्न सिकाउनुहोस् । त्यसपछि, उक्त रूमाललाई साबुनपानीले राम्रोसँग धोएर घाममा सुकाउनुहोस् । प्रयोग गरिएको टिस्यु पेपरको उचित व्यवस्थापन गर्नुहोस् । रूमाल बोकेको छैन भने, खोक्दा र हाच्छिउँ गर्दा लुगा लगाएको कुहिनो वा हत्केलाले नाक र मुख छोप्नुहोस् । यसो गर्दा रुघा, खोकी र कोभिड-१९
जस्ता रोगहरु परिवारका अन्य सदस्यहरुमा सर्ने सम्भावना न्यून हुन्छ ।

६)आफू अथवा परिवारको अन्य सदस्यहरुलाई खोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता साधारण लक्षणहरु
देखिएपछि निको नहुँदासम्म आफ्नो घरमै भौतिक दूरी कायम गरी बस्नुहोस् । आफूले प्रयोग गरेका सरसामानहरु जस्तै ओछ्यान, तौलिया, थाल-कचौरा, लुगा-फाटो इत्यादिलाई आफै धुने र थन्क्याउने गर्नुहोस् । यदि अरु कोही व्यक्तिबाट यस्तो काम गराउनु परेमा काम सकेपछि उसलाई साबुनपानीले मिचिमिचि हात धुन लगाउनुहोस् । थाल-कचौरा माझ्ने व्यक्ति वा लुगा धुने मानिसलाई रोग सर्न सक्ने भएकोले लुगा छोएपछि, लुगा धुँदै गर्दा र भाँडा माझ्दै गर्दा उसले आफ्नो नाक, मुख र आँखा छुनु हुँदैन । काम सकेपछि राम्रोसँग साबुनपानीले
हात धुनुपर्छ । किनमेल गर्न वा अरु कुनै सामान्य कामको लागि सकेसम्म घरबाहिर नजानुहोस् । यदि अत्यावश्यक कामले घरबाहिर निस्कनु नै परेमा मास्क (मेडिकल मास्क वा तीन तह भएको कपडाको मास्क) र सम्भव भएसम्म चस्माको प्रयोग गर्नुहोस्, जसले अन्य व्यक्तिबाट सजिलै हुनसक्ने संक्रमणलाई न्यून गर्छ । मास्क लगाउँदा सधैँ नाक र मुखलाई राम्रोसँग छोपेको हुनुपर्छ । त्यस्तै, मास्क लगाएर घरबाहिर निस्किसकेपछि मास्कलाई हातले छुनु हुँदैन । किनभने कथम् कथाचित भाइरसको जीवाणु मास्कको बाहिरी सतहमा रहेछ भने त्यो तपाईँको हातमा सर्छ र त्यसले पछि तपाईँलाई नै संक्रमित गर्न सक्छ।

७) यदि तपाईँलाई ज्वरो आएको छ खोकी लागेको छ र सास फेर्न पनि गाह्रो भैरहेको छ भने नजिकैको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्नुहोस् । स्वास्थ्य संस्थामा जानुभन्दा अगाडि सकेसम्म फोन गरेर त्यहाँका चिकित्सक वा स्वास्थ्य सहयोगीलाई आनो स्वास्थ्य समस्या बताउनुहोस् । स्वास्थ्य संस्थाका चिकित्सक वा स्वास्थ्य सहयोगीले दिएको निर्देशन पालना गर्नुहोस् । किनभने उनिहरुसँग तपाईँको क्षेत्रको कोभिड-१९ सँग सम्बन्धी आधिकारिक सूचना हुन्छ । सुरुमै फोन गर्दा तपाईँलाई आवश्यक सल्लाह प्राप्त हुन्छ, जसले गर्दा संक्रमण फैलिन पाउँदैन र तपाईँ पनि चाँडै निको हुनुहुन्छ । तपाईँको घर नजिकको स्वास्थ्य संस्थाको फोन नम्बर तपाईँ  र तपाईँको परिवारका सबै सदस्यले कण्ठ पार्नुहोस् वा सबैले देख्ने ठाउँमा लेखेर राख्नुहोस् ।

८) सामाजिक संजालमा देखिएका कोभिड-१९ सँग सम्बन्धित सूचनाहरु सबै भरपर्दो नहुन सक्छन् । त्यसैले, जस्तो पायो त्यस्तो सूचनाको पछि नलाग्नुहोस् । कोभिड-१९ सँग सम्बन्धित भरपर्दो र ताजा सूचनाहरु विश्व स्वास्थ्य संगठन वा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा स्थानीय स्वास्थ्य निकायहरु (अस्पताल, स्वास्थ्य चौकि) बाट प्राप्त गर्नुहोस् । यी संस्थाहरुलाई तपाईँको क्षेत्रमा कोभिड-१९ को स्थितिको बारेमा राम्रो जानकारी हुन्छ र त्यहाँका कर्मचारीहरुले तपाईँलाई के गर्न हुने र के गर्न नहुने सम्बन्धमा राम्रो र भरपर्दो सुझाव दिन सक्छन् ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानकाे सहयाेगमा

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.