लगानी बोर्डमा नियुक्तिलाई लिएर ओली-दाहाल चर्काचर्की - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 5 August 2020

लगानी बोर्डमा नियुक्तिलाई लिएर ओली-दाहाल चर्काचर्की

काठमाडाैँ, २१ साउन : सरकारले लगानी बोर्डको कार्यकारी कार्यकारी अधिकृतमा सुशिल भट्टलाई नियुक्त गरेकोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'  र वरिष्ठ नेता झलनाथ खनालले असन्तुष्टि जनाउनुभएकाे छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री केपी ओलीसँगको छलफलमा प्रचण्ड र खनालले पार्टीको परामर्श र निर्णयविनै लगानी बोर्डको कार्यकारी प्रमुखमा भट्टको नियुक्तिको विषयलाई लिएर चर्काचर्की भएको हाे ।

बैठकमा सहभागी नेताले भन्नुभयो, “नियुक्ति गर्नुअघि पार्टीमा परामर्श गर्नुपर्थ्याे, तर प्रधानमन्त्रीले परामर्श नगरी नियुक्ति गर्नुभयो । यसमा हाम्रो कडा आपत्ती रह्यो ।” 

प्रधानमन्त्री ओलीले भने मिडियाले लेखेकै आधारमा प्रश्न उठाउनुको औचित्य नहुने भन्दै सरकारले योग्य व्यक्तिलाई नै नियुक्ति गरेको भन्दै उनको बचाउ गर्नुभएकाे थियाे । छलफलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी हुनुहुन्थ्याे । पार्टीभित्रको विवाद समाधानका लागि भनिएको छलफल भट्टकै नियुक्तिको विषयमा गम्भीर प्रश्न उठेपछि केहीबेर तनाव भएको उच्चस्रोतले जनाएको छ ।

केहीबेर तनावपछि दोस्रो एजेण्डामा प्रवेश गरेपनि त्यसमा पनि सहमति नजुटेकाे एक नेताले बताउनुभयाे । ‘केहीबेरको तनावपूर्ण अवस्थापछि दोस्रो एजेण्डामा प्रवेश गरेको थियो । हामीले तुरुन्त स्थायी कमिटी बैठक राख्न जोड दियौं,’ ती नेताले भने, ‘प्रधानमन्त्रीले पहिला सचिवालय बैठक राख्ने त्यसपछि मात्रै स्थायी कमिटी बैठक राख्ने अडान दोहोर्‍याउनु भयो । स्थायी कमिटी बैठक जारी छ । त्यसलाई नटुङ्ग्याई अरुमा जान हुँदैन भनेर हामीले भन्यौं ।’

पछिल्लो समय बामदेव गौतम र रामबहादुर थापा ओलीपक्षतिर देखिएसँगै नेकपा सचिवालयको समीकरण बदलिएको छ । यो बदलिएको समीकरणले सचिवालयमा आफ्नो बहुमत देखिएपछि ओली सचिवालय बैठक गर्ने पक्षमा देखिनुभएकाे हाे । स्थायी र केन्द्रीय कमिटीमा भने प्रचण्ड-नेपाल समूहको बहुमत छ ।

तीन दिन लगातार संवाद हुँदा पनि दुवैपक्ष आ–आफ्नो अडानमा जहाँको त्यहीँ छन् । प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहको माग छ । दुवै पद नछाड्ने ओलीको अडान छ । स्थगित स्थायी कमिटी सुचारु गर्ने विषयमा पनि उहाँहरुबीच मतभेद छ । एक सय ५२ केन्द्रीय सदस्यले लिखित माग गरे पनि केन्द्रीय कमिटीको बैठक अनिश्चित छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.