वडा अध्यक्षसहित पर्सामा थप ३८ जनामा सङ्क्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Monday, 3 August 2020

वडा अध्यक्षसहित पर्सामा थप ३८ जनामा सङ्क्रमण पुष्टि

वीरगञ्ज, १९ साउन : नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणको आइतबार साँझ आएको रिपाेर्टअनुसार वीरगञ्ज महानगरपालिका वडा नं. १२ का वडाध्यक्षसहित थप ३८ जनामा कोरोना पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार साउन १५ गते वीरगञ्ज–११ मा रहेको श्रीपुर स्कुलमा स्वाब नमूना दिएका वीरगञ्ज महानगरपालिका वडा नं. १२ का वडाध्यक्षसहित थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उहाँका अनुसार २६ देखि ६४ वर्ष उमेर समूहका चार महिलासहित थपिएका ३८ जना सङ्क्रमितहरूमा मास टेस्टिङका लागि लिइएको स्बाव र कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब सङ्कलन गरिएका मात्र रहेका छन् ।
आइतबार साँझ नयाँ थपिएका सङ्क्रमितमध्ये अधिकांश वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरका छन् । आइतबार साँझ आएको पीसीआर परीक्षण रिपाेर्टअनुसार वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरका २७ जना, वडा नं. १० घडिअर्वाका एक जना, वीरगञ्ज वडा नं. ४, बिर्ताका एक जना, वीरगञ्ज वडा नं. १५ भिस्वाका एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रहरीका एक जना र नेपाली सेनाका एक जना, सखुवाप्रसौनी गाउँपालिका र जिराभवानी गाउँपालिका सेढवाका एक/एक जनामा पनि सङ्क्रमण देखिएको छ । शनिबार थपिने सङ्क्रमितमा बारा जिल्लाका तीन जना र एक जना भारतीय नागरिक पनि रहेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं. ११, श्रीपुरको एक होटलका एक व्यक्तिमा समेत शनिबार सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण फैलिएको हुनसक्ने आशङ्का गरिएको छ । यसैबीच, नारायाणी कोरोना विशेष अस्पतालबाट आइतबार कोरोना सङ्क्रमणमुक्त भएर सात जना डिस्चार्ज भएका छन् । अस्पतालका ईन्चार्ज डा. निरज सिंहले तीन जना महिला र चार जना पुरुष गरी सात जना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएको जानकारी दिनुभयाे ।

साउनयता पर्सामा ३९० नयाँ सङ्क्रमित थपिएका छन् । पर्सामा सङ्क्रमितको सङ्ख्या ५४२ पुगेको छ । आइतबार ३५ जना शनिबार ४५, शुक्रबार ६५, बिहीबार ४४, बुधबार ५४ जनामा मङ्गलबार ३४ जना र सोमबार १५ जना गरी पछिल्लो एक हप्तामा २९२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.