दमकमा भदौ १३ गतेसम्म लकडाउन लम्बियो - pharaksandesh.com

मुख्य समाचार


Sunday, 23 August 2020

दमकमा भदौ १३ गतेसम्म लकडाउन लम्बियो

दमक, ७ भदौ  : सङ्क्रमण तीव्र फैलिँदै गएको दमकमा लकडाउनलाई फेरि एक साताका लागि थपिएको छ । नगरप्रमुख रोमनाथ ओलीको अध्यक्षतामा नगरपालिकामा शनिबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमित बढेको भन्दै लकडाउनलाई भदौ १३ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो । 

बैठकमा जनप्रतिनिधिहरुसहित राजनीतिक दल, सुरक्षा अधिकारी तथा स्थानीय सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो । यसअघि दमकमा कोरोनाको जोखिम बढेको भन्दै एक सातासम्म लकडाउन गर्ने निर्णय गरिएको थियो । त्यसको समयसीमा शनिबार सकिँदै थियो तर शनिबार नै थप १६ जनामा एकैसाथ कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिका लकडाउन थप गर्ने निष्कर्षमा पुगेको प्रवक्तासमेत रहनुभएका उपप्रमुख गीता अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार शनिबार सङ्क्रमित हुनेमा नेपाल विद्युत् प्राधिकरणका सात कर्मचारी, आठ प्रहरी र दमक फार्मेसीका एक जनामा कोरोना पुष्टि भएको छ । योसँगै दमकमा कोरोना सङ्क्रमितको सङ्ख्या ६६ पुगेको छ । 
दमक फार्मेसीका एक पुरुषमा कोरोना देखिएसँगै फार्मेसी सिल गरिएको छ । दमकमा समुदायमा पनि कोरोना सङ्क्रमित फेला पर्न थालेको भन्दै नगरपालिकाले नगरक्षेत्रभरि गत साउन ३२ देखि लकडाउन गरेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म १४ जना उपचारपछि घर फर्किएका छन् भने अन्यको कोभिड अस्पताल तथा विभिन्न होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले वताउनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.