वीरगञ्ज, ७ भदौ : पर्साको वीरगञ्जमा उपचाररत थप एक जना काेराेना सङ्क्रमित महिलाको मृत्यु भएको छ । साउन २४ गतेदेखि वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत सङ्क्रमित महिलाको शनिबार मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार बिहान पुष्टि गरेको हो ।
पर्साको वीरगञ्जमा रहेको अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर निवासी ५६ वर्षीय कोरोना सङ्क्रमित महिलाको शनिबार बेलुका ७ः ३० बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । ज्वरोका साथै खोकी र श्वासप्रश्वासमा समस्या भएपछि साउन २२ गते नारायणी अस्पतालमा स्वाब सङ्कलन गराएकी ती महिलाको नारायणी अस्पतालको प्रयोगशालामा पिसिआर परिक्षण गर्दा साउन २४ गते कोरोना पोजिटिभ देखिएको थियो ।
हाईपो थाईरोइड रोगको बिरामी रहेकी ती महिलामा ज्वरो, खोकी लाग्नुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि आईसियूमा राखेर उपचार गरिएको तर स्वास्थ्यमा सुधार नभएकाले पछिल्लो १२ घण्टा भेन्टीलेटरमा राखेर उपचार गरिरहेको अवस्थामा मृत्यु भएको वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालकी मेट्रोन भूमिका अधिकारीले गोरखापत्रलाई बताउनुभयो ।
यी सङ्क्रमित महिलाको मृत्युसँगै वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।

No comments:
Post a Comment