धनगढीका तीन सय घर डुबानमा - pharaksandesh.com

मुख्य समाचार


Monday, 10 August 2020

धनगढीका तीन सय घर डुबानमा

कैलाली, २६ साउन : दुई दिनदेखि लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेका छन् । धनगढीको बजार क्षेत्र क्याम्पस रोड, शिवनगर, एलएनचोक, पार्कचोक, विशालनगर, मिलनचोक, चौराहा, उत्तरबेहडी, चटकपुरलगायत अधिकांश भूभागमा डुबान भएको हो ।

विशालनगरमा झण्डै आधा दर्जन परिवार विस्थापित भएको स्थानीय टेकराज जोशीले बताउनुभयो । उहाँले घरमा पानी पसेपछि छिमेकी र आफन्तको घरमा बस्नुपरेको बताउनुभयो । सबैभन्दा बढी धनगढीको बजार क्षेत्र र वरपर रहेका वडामा डुबान भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर–३ का अध्यक्ष बलबहादुर ऐरले पानी निकास नहुँदा समस्या भएको बताउनुभयो । उहाँले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को विशालनगर, चटकपुर, बोराडाँडीलगायत क्षेत्रमा डुबान भएको जानकारी दिँदै क्षतिको लगत लिइरहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बाढी बस्तीमा पसेपछि झण्डै तीन सय घरमा पानी पसेको बताउदै भन्नुभयो, ‘पानी पसेपछि ५५ घरमा क्षति पुगेको छ । बाँकी क्षतिको विवरण आएको छैन ।’

धनगढी उप–महानगरपालिका र नगर विकास समितिकै संलग्नतामा खोलानाला अतिक्रमणको चपेटामा परेपछि धनगढीमा डुबानको समस्या बढ्दैगएको छ । 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.