सर्लाहीमा सोमबारदेखि लकडाउन कडाईका साथ लागू गरिने - pharaksandesh.com

मुख्य समाचार


Sunday, 9 August 2020

सर्लाहीमा सोमबारदेखि लकडाउन कडाईका साथ लागू गरिने

सर्लाही, २५ साउन : सर्लाहीमा लकडाउनलाई सोमबारदेखि कडाईका साथ लागू गरिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी) को आइतबार दिउँसो सदरमुकाम मलङ्गवामा बसेको बैठकले सोमबार बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउनको कडाईका साथ पूर्ण कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

परीक्षणको दायरा बढाइएसँगै मलङ्गवा, बरहथवा, ईश्वरपुर, लालबन्दी लगायतका स्थानमा जनप्रतिनिधि, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी र वित्तीय संस्थामा कार्यरत कर्मचारीमा सङ्क्रमण पाइएकाले समुदायस्तरमै सङ्क्रमण फैलिसकेको (सीसीएमसी) को बैठकले ठहर गरेको छ । यसै सन्दर्भलाई दृष्टिगट गर्दै कोरोनाको सङ्क्रमण समुदायस्तरमा थप हुन नदिन स्थानीय प्रशासन ऐन २०२८ तथा सङ्क्रामक रोग ऐन २०२० बमोजिम जारी लकडाउनमा सोमबारदेखि कडाई गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी, भारतबाट जिल्ला प्रवेश गर्न खोज्ने व्यक्तिहरुलाई कडाईका साथ नियमन गर्ने, प्रवेश गरिसकेकालाई क्वारेन्टिनमा राखेर पीसीआर परीक्षण पश्चात् नेगेटिभ रिपोर्ट आएपछि मात्रै गन्तव्यमा पठाउने र सीमाबाट प्रवेश गरेकाहरुको सङ्ख्या विष्लेषणको आधारमा आवश्यक थप क्वारेन्टिनको व्यवस्था गर्न मलङ्गवा नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

सर्लाहीमा कोरोना सङ्क्रमणबाट मलङ्गवाकी एक महिलाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ भने ८१० जनामा सङ्क्रमण पाइएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.