मधू भण्डारी
बाले नयाँ पात्रो घरमा ल्याउने बित्तिकै पहिलो काम भनेको यो सालको दशैं, तिहार र तीज कहिले छ हेरिन्थ्यो । दसैं र तिहारमा त बिदा नै हुन्थ्यो । तीजमा स्कुल लाग्थ्यो । अनि बिदाको दिनमा तीज परेछ भने मख्ख । सबै भन्दा अगाडी आउने भएर पनि होला तीजको दिन गन्दै बसिन्थ्यो महिना दिन अघिदेखि । गाउँमा तीजको तयारी बेग्लै हुन्थ्यो नि । अरु तयारी सङ्गसङ्गै तीजको लागि बारिको घाँससम्म साँचेर राखिन्थ्यो। छिटोछिटो भारी पुर्याएर जात्रा हेर्न जान पाइन्थ्यो नि त। कोहि कोहि त तीन चार भारी घाँस अघिल्लो दिन नै काटेर राख्थे तीजको दिन फुर्सद पाउन । के गर्नु गाई बस्तुले व्रत बस्दैन । बारिभरी काक्रो झुन्डिरहेका हुन्थे । पाकेको काक्रोको खल्पी हाल्नुहुन्थ्यो बुबा तीजको लागि भनेर । त्यस्तो अचार यहि सिजनमा मात्रै खान पाउने भएर होला विशेष लाग्थ्यो त्यस्को स्वाद । तीजको तीन चार अघि आमा बुबा हजुरबुबा काका जो सक्नुहुन्छ दिदीहरुलाई लिन जानुहुन्थ्यो । अहिले जस्तो फोन र ईन्टरनेट थिएन नि त । फर्केर न आउन्जेल अत्तोपत्तो हुदैनथ्यो दिदीहरु आउन पाउनुहोला कि नहोला । कति उत्साह हुन्थ्यो नि दिदीहरु आउने कुराले । कोसेलिको आश नि हुँदो हो । केटाकेटी न हो । कति बेर आइपुग्नुहोला के ल्याइदिनुहोला भनेर बाटो हेर्दै बसिन्थ्यो ।
कुर्दा कुर्दै दर खाने दिन आई त हाल्थ्यो । आमा प्राय दिउँसो नै मामाघर पुगेर दर खाएर आउनुहुन्थ्यो घरमा दिदीहरुलाई दर खुवाउन । अनि दिउँसो देखि नै तयारी दरको । मलाई थाहा भएदेखि नै तीजको दर भनेको खिर हो । अहिले त अनेकौं परिकार बनाउने चलन छ । अझ पनि मलाई दर खानेभन्दा खिर कै तस्वीर आउँछ आँखा अगाडि । घरमा प्राय दुहुनो टुट्दैनथ्यो । आक्कल झुक्कल टुटेको बेलाको तीजमा बुबाले सहर गएर बट्टाको दुध ल्याउनुहुन्थ्यो । बाक्लो लेदो जस्तो दूध । पानीमा घोलेर धेरै बनाउन मिल्ने । अनि खुब मीठो लाग्थ्यो चाटेर खान त्यो दूध । खै नाम त के पो हो । हामी बट्टे दूध भन्थ्यौं। अनि त्यस्को टिनको बट्टा चै पिठो, चामल झिक्ने काममा प्रयोग हुन्छ अझै पनि घरमा । बुबा आमा मिलेर दर पकाउनुहुन्थ्यो अर्थात नरिवल हालेको खिर । अहिले जस्तो काजु, किस्मिस कहाँ पाउनु । आलुको तरकारी अनि आलु काक्रोको अचार । कति मिठो हुन्थ्यो त्यो दर । अनि कति रमाइलो हुन्थ्य्यो त्यसरी सबै परिवार एकै साथ बसेर खाँदा । राती अबेरसम्म आमा र दिदीहरु घरपरिबारको बारेमा गनथन गर्दै बस्नुहुन्थ्यो । अहिले जस्तो दिनहुुँ भिडियो कल कहाँ हुन्थ्यो र । म आमालाई मलाई भोलि चाडैं उठाईदिनु है भन्दै कतिबेला झ्याप्प निदाउँथे कहाँ पाउनु अलार्म।
तीजको दुई तीन दिन अघि देखि काँधमा र टाउको ठूलो ठूलो पोका बोकेर काठमाडौँ तथा तराईदेखि व्यापारीहरु आउँथे । जति धेरै व्यापारी उति धेरै रमाईलो मेला । तीजको दिन विशेष लाग्थ्यो । चाडैं उठिन्थ्यो अघिपछि भन्दा । अनि चिया खाएर हिजोको बाँकी दर कुराउनी कोरि कोरि खाइन्थ्यो । कति मीठो । हिजो भन्दा आज झन मीठो । त्यस्पछी हतार हतार सबै भन्दा सप्रेको घाँस काटेर ल्याएपछी दिनभरी जात्रा हेर्न फुर्सद हुन्थ्यो । आमा र दिदीहरु व्रत बस्नुहुन्थ्यो । पानी पनि नखाई । मलाई सोचेरै अचम्म लाग्थ्यो । कसरि सकेको होला । हामी चैं भात खाएर स्कुल जान्थ्यौं । स्कुल र जात्रा लाग्ने मन्दिर नजिकै भएकोले पनि होला स्कुल जान पनि रमाईलो लाग्थ्यो । स्कुल त खाली हाजिरीको लागि गैन्थ्यो । मन त जात्रा मै । पहिलो घण्टिपछि खुरुरु जात्रा हेर्न आईन्थ्यो । बिहानैदेखि मन्दिरको घण्टाको आवाज सुन्दा कस्तो रमाइलो लाग्थ्यो । अनि हामी चै स्कुल ड्रेस मै दुइटा कपि च्यापेर जात्रा हेर्न थाल्थ्यौं । गाउँमा किराना पसल मात्रै थिए । त्यसैले जात्रामा पाउने रङ्गिबिरङ्गी खेलौना, धातुका गरगहना विशेष लाग्थे । जात्राको मुख्य आकर्षण हुन्थ्यो जेरी । त्यस्बेला गाउँमा कसैले जेरी नबनाउने भएर पनि होला । हामी खुब खुसी हुन्थ्यौ जेरी खान पाउँदा । गोजिमा १०/२० रुपैयाँ हुँदो हो तर पनि कति खुसी लाग्थ्यो । त्यति पैसाले पनि धेरै कुरा किन्न पाईन्थ्यो । २ रुपैयाँमा घडी आउँथ्यो । तर नचल्ने घडी र पनि घडी लाएपछी हाम्रो शान तीन हात माथी । गाउँलेहरु आफ्नो घरमा फलेका तरकारी तथा फलफुल पनि जात्रामा बेच्न ल्याउँथे । कति टाढा टाढाबाट जात्रा हेर्न आउँथे हजारौ मान्छे । अनि आफ्नो आफ्नो टोलि बनाएर नाचगान गर्थे । आफ्नो घरमा सासू, नन्दहरुले गरेको थिचोमिचो नै गीत बन्थ्यो । रमाइलो सैलिमा कति गम्भीर कुरा बोलिन्थे ती गीतमा । अहिले जस्तो महिनौ अघिदेखी न तीजको दर लाग्थ्यो न त तीजका छाडा गीत बज्थे । सारी चोलोमा आमा तथा दिदीहरु नाचेको सार्है राम्रो । अरुका आमा नाचेको हेर्न त रमाइलो लाग्थ्यो । आफ्नो आमा नाच्दा सार्है लाज लाग्ने । किन होला खै। बाघ भैरवको पुजा गर्नुहुन्थ्यो ब्रतालुहरु आफ्नो पतिको लामो आयुको लागि । अनि साँझ झमक्कै परेपछी हामी जात्रा छोडेर घर आउथ्यौं । साँझमा सामन सस्तोमा पाउने भएर पनि होला मान्छेहरु किन्मेल गर्दै हुन्थे ।
भोलिपल्ट पनि आमाहरु गाइको गोबरको के के बनाएर पुजा गर्नुहुन्थ्यो । हामी चै टीका लाएर पैसा पाईन्छ भने पछि मख्ख । त्यस्पछी बल्ल व्रत सकिन्थ्यो उहाँहरुको । पञ्चमीकाे दिन नजिकैको खोलामा गएर नुहाएर पुजा गरे सङ्गै तीज थन्काउनुहुन्थ्यो एक वर्षको लागि । दिदीहरु नगैदिए पनि हुने जस्तो लाग्थ्यो तर भारी मनले बिदा गरिन्थ्यो । अहिले तीज, तीज नभएर देखासिखी गर्ने मेलो भएको देख्दा बाल्यकालको ती तीज झल्झल सम्झना आउँछ ।

No comments:
Post a Comment