रेलवेको पूर्वाधार निर्माणसम्बन्धी ठेक्का प्रक्रिया रोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश जारी - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 4 August 2020

रेलवेको पूर्वाधार निर्माणसम्बन्धी ठेक्का प्रक्रिया रोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश जारी

काठमाडौँ, २० साउन : उच्च अदालत पाटनले तत्कालका लागि रेलवेको पूर्वाधार निर्माणसम्बन्धी ठेक्का प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश शान्ता सेढाईं सापकोटाको इजलासले आगामी २६ गतेसम्मका लागि टेन्डरसम्बन्धी काम यथास्थितिमा राख्न आदेश जारी गरेको हो ।

‘बोलपत्र सूचना र सो सम्बन्धमा भए गरेका सम्पूर्ण निर्णय तथा कामकारबाही हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी विपक्षीका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ । 

तेजकुमार कुरुम्बाङले मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा हाल्नुभएकाे थियाे । उहाँले सीमित ठेकेदारलाई मात्रै लाभ हुने गरी टेन्डर आह्वान भएकाले त्यसको खारेजीको माग गर्नुभएकाे थियाे । उच्च अदालत पाटनले सरकारी पक्षको लिखित जवाफ पनि मागेको छ ।

अदालतको आदेशबमोजिम काम स्थगित हुने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयाे । यो विषय अदालती प्रक्रियामा रहेकाले यसको टुंगो अदालतले चाँडै लगाउने उहाँको भनाइ छ ।

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणमा सीमित निर्माण व्यवसायीले ठेक्का पाउने गरी टेन्डर आह्वान भएको थियो । रेलमार्गको सुरु बिन्दु झापाको काँकडभिट्टाबाट सुनसरीको इनरुवासम्मको १ सय ५ किमि ट्र्याकबेल्ट (माटो भर्ने काम) तयार गर्न भन्दै ३४ अर्ब रुपैयाँको टेन्डर आह्वान गरिएको थियो । ५४ वटा खण्डलाई दुई पटक गरेर ठेक्का आह्वान गरिएको छ । रेल विभागले गत असार १३ मा ३० टुक्राहरूको पहिलो टेन्डर निकालेको थियो । त्यसलगत्तै १७ गते थप २४ वटा टुक्राको टेन्डर आह्वान गरेको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.