त्रिविकाे स्थगित परीक्षा तत्काल नहुने, परीक्षा दसैँअघि हुने सम्भावना न्यून - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 4 August 2020

त्रिविकाे स्थगित परीक्षा तत्काल नहुने, परीक्षा दसैँअघि हुने सम्भावना न्यून

काठमाडौँ, २० साउन : त्रिभुवन विश्वविद्यालयकाे कोरोना भाइरस सङ्क्रमणका जाेखिमका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन नहुने भएकाे छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालय भदौ पहिलो साताबाट पुनः सञ्चालन गर्ने पूर्वनिर्णयबाट पछि हटेको हो ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले अब स्थगित परीक्षाको निर्णय लिने विषयमा आफूहरू पर्ख र हेरको अवस्थामा रहेको बताउनुभयाे । विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न परीक्षा गत चैतदेखि स्थगित छन् । सरकारको आग्रहपछि सरकारले चैत ७ गते परीक्षा स्थगित गर्ने निर्णय लिएको थियो ।

विश्वविद्यालयले कोरोना भाइरस पछिको अवस्थामा परीक्षा सञ्चालनबारे निर्णय गर्न डिन कार्यालयहरूलाई अधिकार दिएको छ । डिनहरूले पनि तत्काल परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको जानकारी दिएका छन् । अब स्थगित परीक्षा दसैँअघि हुने सम्भावना न्यून हुँदै गएको छ । सङ्क्रमण बढेको अवस्थामा परीक्षाबारे निर्णय लिन नसकिने र यो अवस्थामा परीक्षा सञ्चालन गरिने कार्यतालिका धकेलिने उहाँको भनाइ छ ।

परीक्षा सञ्चालनको तयारी गरिए पनि विद्यार्थीसँग सम्पर्क हुन नसकेको र सहज रूपमा सार्वजनिक यातायात सञ्चालन हुन सक्ने परिस्थिति नभएसम्म परीक्षा लिन नसक्ने उहाँको भनाइ छ । विश्वविद्यालयको परीक्षा देशभर एकै पटक लिनुपर्ने भएकाले पनि सङ्क्रमणको अवस्था सामान्य अवस्थामा आउनैपर्ने उहाँको भनाइ छ ।

अब परीक्षाका विषयमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग समेत छलफल गरी सम्भावित परिस्थिति आकलन गरिने जानकारी उहाँले दिनुभयो । त्यसपछि मात्रै के गर्ने भन्ने विषयमा निर्णय गर्न सकिने उहाँको भनाइ छ ।

यसैबीच विश्वविद्यालयले सङ्क्रमण बढ्दै गई पुनः बन्दाबन्दी हुने र अझै केही महिना परीक्षा सञ्चालन हुन नसक्ने स्थिति आए परीक्षा सञ्चालनको नयाँ विकल्पबारे सोच्ने जनाएको छ ।

परीक्षा नियन्त्रक जोशीले पुनः केही महिनामै बन्दाबन्दी हुने परिस्थिति उत्पन्न भए परीक्षाको विकल्प खोजिने बताउनुभयो । हाल विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा हुने परीक्षाको माध्यमबाट मात्रै विद्यार्थीको मूल्याङ्कन गरी माथिल्लो कक्षामा चढाउने गरेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.