अध्यक्षद्वय ओली–प्रचण्डवीचकाे छलफल आरोप-प्रत्यारोपमा सीमित - pharaksandesh.com

मुख्य समाचार


Sunday, 2 August 2020

अध्यक्षद्वय ओली–प्रचण्डवीचकाे छलफल आरोप-प्रत्यारोपमा सीमित

काठमाडौँ,  १८ साउन :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’वीच बालुवाटारमा भएको छलफल एकअर्कामाथि आरोप-प्रत्यारोपमा सीमित भएकाे छ । साउन १३ मा दुवैले चालेको कदमलाई लिएर नेकपाका दुई अध्यक्षले एकअर्कामाथि आरोप-प्रत्यारोप लगाउने काम भएकाे  र दुवैले अर्काको कदममा आपत्ति जनाउनुभएकाे हाे । 

साउन १३ मा तय भएको स्थायी कमिटी बैठक ओलीले एकतर्फीरुपमा स्थगित गरेपछि अध्यक्ष प्रचण्डले बहुमत सदस्य राखेर बैठक गर्नुभएकाे थियाे । यसै विषयलाई लिएर आइतबार ओली र दाहालबीच भनाभन भएको एक नेताले बताउनुभयाे ।

छलफलमा ओली र प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी हुनुहुन्थ्याे । साउन १३ मा बहुमत स्थायी कमिटीको बैठक बस्नुअगाडि पनि प्रचण्ड र खनालले ओलीसँग बालुवाटारमा संवाद गर्नुभएकाे थियाे । त्यसदिन दुवैले एकतर्फीरुपमा कदम चालेपछि उहाँहरुबीच अविश्वास बढेको थियो । त्यसपछि ओली र प्रचण्डबीच भेट भएको थिएन ।  

बिहीबार दाहालले महासचिव विष्णु पौडेललाई खुमलटार बोलाएर निकास निस्कने गरी छलफलमा बस्न ओलीलाई प्रस्ताव गरेपछि पौडेलको लबिइङमा दुई अध्यक्ष आफू निकटका नेता राखेर छलफलका लागि तयार हुनुभएकाे हाे । 

आजको भेटघाटमा अध्यक्ष ओली र असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर पटक-पटक स्थगित भएको जारी स्थायी कमिटी बैठक सुचारु गर्ने विषयमा छलफल हुने भनिएपनि दुवै अध्यक्षले अडान नछाडेपछि सहमति जुट्न नसकेकाे स्राेतले बताएकाे छ ।

दुई अध्यक्षले आफ्नो पक्षका नेताहरुसँग निरन्तर छलफल र संवादमा रहनु भएपनि अध्यक्षद्वयबीच भने नियमित वार्ता र संवाद हुन सकेको थिएन । 

साउन १३ का लागि तय भएको स्थायी कमिटीको बैठक अध्यक्ष ओलीले सूचना टाँसेर स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले एकतर्फी रूपमा सञ्चालन गर्नुभएकाे थियाे। यता ओली पक्षले स्थगित भएको बैठकलाई मान्यता दिएकाे छैन । आन्तिरक विवादका बीच नियमित छलफल, संवादमा रहेका अध्यक्षद्वय त्यसयता प्रत्यक्ष संवादमा हुनुहुन्नथ्याे। उक्त बैठकले प्रचण्डलाई सहमति खोज्ने जिम्मेवारी दिएको थियो ।

नेकपामा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आपत्ती जनाउँदै उहाँको राजीनामा मागेको छ। जारी स्थायी कमिटी बैठक पनि उहाँले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने माग चर्को रूपमा उठेपछि बैठक अनिश्चित बनेको छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.