लिदीको बस्ती स्थानान्तरण गरिने - pharaksandesh.com

मुख्य समाचार


Saturday, 15 August 2020

लिदीको बस्ती स्थानान्तरण गरिने

काठमाडौँ, ३१ साउन : गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाइने बताउनुभएको छ । पहिराग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उहाँले सो कुरा बताउनुभएको हो । बिहान खसेको पहिरामा परेर त्यहाँ ११ जनाको मृत्यु भएको छ भने २७ बेपत्ता छन् ।

मन्त्री थापाले अझै ठूलो क्षति हुन सक्ने अवस्था देखिए पनि पूर्वसावधानी अपनाउँदा कम क्षति भएको बताउनुभयो । सरकारका तर्फबाट उद्धारलाई छिटोभन्दा छिटो अघि बढाउने र पुनःनिर्माणको काम तीव्् बनाइने गृहमन्त्रीको भनाइ थियो । 

शुक्रबार गृहमन्त्री थापा राहत सामग्रीसहित घटनास्थलमा पुग्नुभएको थियो । उहाँले लिदी गाउँ जोखिमयुक्त ठाउँमा रहेको निष्कर्षका आधारमा स्थानीय प्रशासनले सचेतना अपनाउन आग्रह गरे पनि क्षति भएको भन्दै दुःख व्यक्त गर्नुभयो । 

मन्त्री थापाले भन्नुभयो, “उहाँहरु साँझ सरेर अर्कै ठाउँमा बास बसे पनि बिहान घरमा फर्किएको समयमा पहिरो आएकोले क्षति हुन पुग्यो ।” पहिलो काम बेपत्ताहरुको खोज तथा उद्धार भएको भन्दै त्यसमा सक्रिय रुपमा सुरक्षाकर्मी खटिरहेको उहाँले बताउनुभयो । उद्धार सकिएपछि बस्ती स्थानान्तरण गरी पीडितका लागि उपयुुक्त स्थानमा बासस्थानको व्यवस्था मिलाउन प्रक्रिया शुरु गरिने उहाँले आश्वासन दिनुभयो ।

गृहमन्त्री थापासँगै ४० परिवारका लागि पुग्ने राहत सामग्री पु¥याइएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार ४० थान चाइनिज पाल, ४० वटा त्रिपाल सेट, ४० सेट भाँडावर्तन, ४० वटा ब्ल्यांकेट, ४० म्याट्रेस, ४० बाल्टिन, ४० जग, ५० प्लाष्टिकको ग्यालिन र ६० थान पञ्जा लगिएको हो । सोहीक्रममा मन्त्री थापाले तत्कालीन राहत सामग्रीका लागि सरकारका तर्फबाट रु दुई लाख हस्तान्तरण गर्नुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.