ठ्याक्कै ५ महिना अघिको कुरा । एकाबिहानै छिमेकी बा’ कुम्लो कुटुरो बोकेर बाहिर निस्केको देखेँ । “बा’ कता लाग्नु भयो?” बाटामै रोकेर सोधेँ । अनुहारमा त्यति खुशी देखिन । “कान्छाको तिर” छोटो उत्तरमा उम्कन खोजे ।
एक वर्ष अघि “अब जेठाकामा नै प्राण जान्छ’ भनेर बा’ले भनेको याद आयो । “किन र के भयो बा’” । “जेठोको सरुवा भयो, बुहारी र नाति पनि उतै जाने रे, म एक्लोलाई त्यो घर के काम, बुहारीको सल्लाह अनि कान्छा छोराले हत्ते गरेको छ आइज भनेर” । बा’ ले सबै एकै सासमा सुनाए अनि बाटो लागे । म हेरिरहेँ । बा’ का कान्छो भाइ र जेठो छोरा दुबै मेरा छिमेकी ।
केहिदिन मै बा’को दर्शन उनकै कान्छा भाइका घरमा भयो । मैले केही बोल्न नभ्याउँदै बा’ले नै बोलाउनु भायो “कता हिडेयौ बाबु?” बा’को अनुहार धपक्कै बलोको जस्तो थियो । मनमनै सोचेँ, “कान्छा छोरा बुहारीको स्याहार चाँडै देखियो” । “थाहा छ बाबु” मैले केही बोल्न नै भ्याएको थिइन, बा’ले आफैँ कुरा सुरु गरे । “अर्को महिना त म क्यानडा जाने हो नि, १०/८ दिनमै कागज पत्र आइपुग्छ, माइलो छोराले बनाएर पठाएछ नि” । बा’ ले सबै बेलिबिस्तार एकै सासमा सुनाए । “बधाइ छ बा’” । वल्लो घर, पल्लो घर, चिनजान, सबैले छिटै थाहा पाए, बा’को क्यानडाको स्थाइ यात्राको कहानी ।
दिनहरू बित्दै गए, २ महिना जति पछि फेरी एकदिन बालाई भेटेँ, भाइका घरमा आउँदा । २ महिना अघिको खुसीले भरिएको भर्भराउँदो अनुहार पानी हालेर निभाएका अँगेनो जस्तो भा’को थियो, के भयो बा? सञ्चो छैन कि कसो? “ठिकै छ” यति नै मात्र । “हिजो बा’लाई त्यति खुसी देखिन नि?” भोलिपल्ट छिमेकी काकालाई सोधेँ । “खै के भनौँ बा?” छिमेकी काकाले लामो सास फेरे । “मेरा दाजु त्यति धेरै भाग्यमानी रहेनछन् क्यार।”
“किन के भयो र?” मेरो जिज्ञासा जारी थियो ।
“जेठोको जागिर सरुवा भएसँगै दाजुले जेठाको घर छोड्नु पर्यो । कान्छाकी दुलही खै किन हो छेवै पर्दिन रे, बोल्दै बोल्दिन रे । कान्छो छोरो बोल्नै भ्याउँदैन रे । अस्ति मेरा घरबाट फर्केर गएपछि त नाति नातिनी पनि नछुनू है भन्ने उर्दि जारी भयो रे” छिमेकी काका टुसुक्क बसे ।
“अनि बा’को त क्यानाडा पो जाने कुरा थियो त?”
“खै बाबु, राम जानुन् । कागज पत्र बन्दैछ भन्ने कुरो आउँथ्यो । लकडाउन सुरु भएपछि, कागज त अस्ति नै बनेर चिठिको बाकसमा अड्केको रैछ, देखिएन छ, अब लकडाउन भैगो भन्ने खबर आको छ रे ।” छिमेकी काका कुरा सुनाउँदा हाँस्न खोज्दै थिए, तर सकेनन् । उनको फोनको घण्टि बज्यो । कुराकानी त्यति जाति लागेन अनुहार हेर्दा । सोधँ “के भयो काका, कस्को फोन?”
“दाइको।”
“किन के भएछ काका फेरि?”
“खै, डर लागे जस्तो हुन्छ रे, पेट पीरो भएर भत्भति पोल्छ रे । अब के भन्नु, के गर्नु?” काका लामो सास तानेर भुईमा बसे र मलाई सोधे, “कोरोना हुँदा यस्तो हुन्छ हो?”
यी सबै कुरा २/४ दिन अघिका मात्र हुन् ।
आज कुशेऔशी, बिहानै फेसबुक खोलेको त हेरेको हेरै भएँ म । ती बा’का तीनवटै छोराले विशिष्ट शब्द र गहिरो भाव सहित बा’लाई शुभकामना ब्यक्त गरेका थिए ।
Happy Father’s Day
बा’ले चाहि थाहा पाए कि पाएनन् कुन्नि ।
कुशे औँसी, २०७७

No comments:
Post a Comment