काठमाडौँ, ३ भदौ : संघीय संसदको लोगोमा राखिएको नक्सा नमिलेको र भद्दा देखिएको भन्दै संसद सचिवालयले निर्माणकर्तालाई नै फिर्ता गरेको छ । फेरि नयाँ लोगो बनाएर ल्याउन भन्दै संसद् सचिवालयले बाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयलाई फेरि नयाँ लोगो बनाएर ल्याउन भन्दै लोगोहरु फिर्ता पठाएको हो ।
संघीय संसद सचिवालयले आज जारी गरेकाे विज्ञप्तिमा ब्याच पिनमा संरचनागत र साजसज्जा सम्बन्धि समस्या देखिएकाले साेकाे सुधार र परिमार्जनकाे लागि फिर्ता पठाएकाे उल्लेख छ ।
उक्त लोगो सार्वजनिक भएपछि लोगो डिजाइन गरेर दिने टेकवीर मुखियाले पनि आफ्नो कलामाथि घोर अन्याय भएको विभिन्न मिडियामा प्रतिक्रिया दिनुभएकाे थियाे।
भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको नक्सामा समावेश गरेर जेठ ७ गते सरकारले नक्सा अद्यावधिक गरिएको थियो । त्यसपछि जेठ ११ गते बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय सांसदहरूले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमाअनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय लिएको थियो ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाललाई संघीय संसद्का महासचिव डा. भरतराज गौतमले लोगो हस्तान्तरण गर्नुभएकाे थियाे ।
गएको जेठ ११ मा बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले नेपालको अद्यावधिक नक्सा अनुसारको लोगो (प्रतीक चिह्न) परिमार्जन गर्ने निर्णय गरेको थियो ।
सांसदहरुले लगाउने लोगोमा दुई लाल सुनको जलप लगाइएको छ भने १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास छ । एउटा लोगो बनाउन ५ हजार ५ सय २७ रुपैयाँ खर्च भएको थियो । घरेलु कार्यालयले सुरुमा ३५० थान लोगो बनाएर संघीय संसद सचिवालयलाई दिएको थियो ।


No comments:
Post a Comment