मेरो देब्रे हात : शशी श्रेष्ठ - pharaksandesh.com

मुख्य समाचार


Sunday, 16 August 2020

मेरो देब्रे हात : शशी श्रेष्ठ

दाजुले एकदिन हामीलाई करसिभ राइटिङ भएको ABCD वाला बुक ल्याइदिनुभयो। "यस्तै अक्षर लेख्ने प्रयास गर्नू", भन्दै उहाँले त्यो बुक हामीलाई थमाउनुभयो। हामी ती नयाँ नौला जुँगे ABCD देखेर खुबै रमायौँ। एकदिन स्कुलमा सरले सोध्नुभयो, "करसिभ राइटिङ लेख्न कसलाई आउँछ?" मैले हतार हतार हात उठाएँ।
        
दार्जिलिङमा पढेर आएका हाम्रा सर विद्यार्थी कुट्‌नमा नम्बर वान हुनुहुन्थ्यो । हाम्रो गाउँको सर भएर म वहाँलाई आदर गर्थें। एकदमै मोटो र भयङ्कर शरीर भएका ती सरलाई सबै साथीहरू गोले सर भन्थे। वहाँको नाम चाहिँ ओल्याङचुङ् देवान थियो। मैले हात उठाएको देखेर वहाँले मलाई अगाडि बोलाउनु भयो। म सानका साथ अगाडि गएर बोर्डमा ABCD लेख्न थालेँ। रिसाहा सर झनै रिसले नजिकै आएर मेरो हातमा हिर्काउँदै भन्न थाल्नुभयो,"त्यो चाक धुने हातले किन लेखिस्? अर्को हातले लेख्न आउँदैन...?" म रुन थालेँ। 

मलाई यो हातको कुरामा दिक्क लाग्थ्यो। आमा पनि त्यो हातले भात नखा मेरो अगाडि भन्दै गाली गरिरहनु हुन्थ्यो। म जिद्दी र मूर्ख थिएँ। बरु खाना नै खान्न तर अर्को हात त चलाउँदिन भनेर रोइदिन्थेँ। मेरो भनेको नटेर्ने बानीले आमालाई दुःखी बनाइरहन्थ्यो। मलाई भने दुवै हात बराबर त हो नि जस्तो लाग्थ्यो। कसैले भनेको नटेर्दा नटेर्दै मेरो देब्रे हातले लेख्ने र खाने बानी नै बस्यो। प्रत्येक दिन केही न केही कुरा गरेर गोले सरले गाली गरिरहनु हुन्थ्यो। कक्षा २ पढुन्जेल वहाँले मेरो हातको बिरोध गरिरहनु भयो। सबै साथीहरूको अगाडि सरले धेरै पटक चाक कुन हातले धुन्छस् भनेर प्रश्न गर्नु हुन्थ्यो। म नडराइ दायाँ हात उचालेर यो हातले भन्दै देखाउँथे। कुनै कसुर बिना नै पटक पटक कुटाई खाएको मेरो बायाँ हात त्यसैले पनि मलाई साह्रै प्यारो लाग्छ।

तीन वर्ष अगाडि तिनकुनेमा स्कुटी एक्सिडेन्ट भएर मेरो देब्रे हात भाँच्चिएको थियो। अप्रेसन गरेर स्टिल हालेको कुरा मेरी आमालाई खबर पुगेछ। वहाँले आफ्नी छोरीको  हात भाँच्चिएको कुरा सुनेपछि मलाई रातदिन फोन गरेर, "एकपटक आइज न नानी, म तँलाई हेर्छु" भनिरहनुहुन्थ्यो। म घरमा सल्लाह गरेर आफ्नो स्टिल हालेको हात लिएर आमा भेट्न गएँ। आमा मेरो हात देखेर धेरै दुःखी हुनुभयो। त्यसै बेला छिटो जोडिने भन्दै आमालाई कसैले चिप्लेकिरा खुवाउने सल्लाह दिएछ। आमाले मलाई चिप्लेकिरा खान धेरै पटक आग्रह गर्नुभयो तर मैले मानिनँ। 

एकदिन चिप्लेकिरा घरमा आइपुग्यो, सिसिभित्र प्याक भएर। तिनीहरू हेर्दै डरलाग्दा थिए । कसरी खानु, मैले सोच्न पनि सकिनँ। अन्ततः आमाले मलाई दुधमा पकाएर नदेखाइ खुवाउने भनेर फकाउनु भयो। मैले आमाको अनुहार हेरेर हारेँ, अन्त्यमा आमाको जित भयो। तराईमा त्यो पाउँदैन थियो । आमाले धेरै टाढा पाँचथर जिल्लादेखि मगाउनु भएको रहेछ। सिसिमा ल्याइएका ति जिउँदै थिए। मैले खान त खाएँ तर खानेबित्तिकै उल्टि भयो तैपनि आमाको खुसीकोलागि मैले चार पाँच पटक चिप्लेकिरा खाएको पक्का हो। त्यो कुरा भाइलाई पनि थाहा थियो।

तीन वर्ष अगाडि राखेको हातको स्टिल अप्रेसन गरेर निकाली म घरमा रेस्टमा बसेरहेकी बेला एकाबिहानै मेरो भाइले मलाई फोन गर्यो। "शशी एउटा कुरा सुन् त, मेरो घर छेउछाउ कत्ति धेरै चिप्लेकिरा निक्लिएका छन्, तँलाई अचानक सम्झेँ, खान्छेस्? ल्याइदिउँ ?" उसको प्रश्न सुनेर म केही बोल्न सकिनँ। ऊ मलाई फकाउँदै थियो,"बुङ्मतीको अर्ग्यानिक चिप्लेकिरा हो, खा है, म लिएर आउँछु। हुन्छ ?" ऊ मेरो एकमात्र भाइ हो, यति मायाले सम्झेर भनेको हो, खाउँ कि क्या हो एकपटक भन्ने भयो तर मनले मानेन अनि भनिदिएँ, "नाइँ भाइ, खान्न म, न ले है।"

मेरो यो हातको लागि बहिनी लुनाले पनि सुटुक्क चिप्लेकिरा ल्याएर आफ्नो भेनालाई पकाउने रेसिपि सहित दिएकी रहिछ। मैले दिनभर उल्टि गरेपछि मात्र मलाई मेरा श्रीमानले भने, "ठुल- ठुला सिङ् नै पलाइसकेका चिप्लेकिरा दुधमा पकाएर खान दिएको थिएँ।" उफ ! यो कस्तो डरलाग्दो माया।
आज म मेरो यो बायाँ हातको कथा एक एक गर्दै सम्झिरहेछु।                                                                क्रमशः

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.