पर्सा, १९ साउन : पर्सामा थप ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालाले आइतबार राति सार्वजनिक गरेको रिपोर्टमा ७३ जना सङ्क्रमित भएको पुष्टि भएको हो ।
सङ्क्रमितमा ६१ जना पुरुष र १२ जना महिला रहेका छन् । सङ्क्रमित हुनेमा १० वर्षकी बालिकादेखि ६७ वर्षकी वृद्धासमेत रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताउनुभयो ।
आइतबार राति सङ्क्रमण पुष्टि भएका ७३ मा मास ट्रेसिङ, एक घर एक परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा परेका रहेका व्यक्तिहरु हुन् । मास ट्रेसिङमा पीसीआर जाँच गराएका २६ जना, एक घर एक परीक्षण जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका २५ जना रहेको उपाध्यायले जानकारी दिनु भयो ।
सङ्क्रमण पुष्टि भएकामा नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना, पर्साका पत्रकार १ जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका ५ जना, बारा जिल्लाका ५ जना र १ जना भारतीय नागरिक पनि रहेको उपाध्यायले जानकारी दिनुभयो ।
नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ४१ जना रहेका छन् । जसमध्ये १० वर्षीया बालिका र ८ जना महिलासहित ६७ वर्षसम्मका वृद्धा रहेका छन् । पर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ८० जना पुगेको डा. उपाध्यायले बताउनुभयो ।

No comments:
Post a Comment