मेची भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व असुली गर्न असफल - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 4 August 2020

मेची भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व असुली गर्न असफल

सुरुङ्गा, २० साउन : नेपालको पूर्वीनाका काँकरभिट्टाको मेची भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व असुली गर्न असफल भएकाे छ । यस वर्ष वार्षिक लक्ष्यको तुलनामा ६३ दशमलव १२ प्रतिशत मात्र रकम असुली गर्न सफल भएको छ जुन रकम लक्ष्यको तुलनामा ३६ दशमल ८८ प्रतिशतले कमि हो । यसको मुख्य कारणमा कोरोना महामारी र सुपारीजन्य बस्तु निर्यातमा रोक लगाउनु रहेको भन्सार कार्यालयले जनाएको छ ।

नेपाल सरकारले अघिल्लो आर्थिक वर्षमा पूर्वीनाका भएर सुपारी, मरीज, हरियो केराउ र छोकडाको आयातमा प्रतिबन्ध लगाए लगत्तै त्यसको असर राजस्व असुलीमा परेको छ । नेपाल सरकारले गत चैत्र १६ गते काँकरभिट्टा नाका भएर आयात हुने यी वस्तुको आयात प्रतिवन्ध गरेसँगै प्रदेश–१ मा सर्वाधिक राजस्व संकलन गर्ने पूर्वको मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा प्रभाव परेको मेची भन्सार कार्यालयका भन्सार अधिकृत भरतराज अधिकारी बताउनुहुन्छ ।

नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागले यस कार्यालयलाई गत आर्थिक वर्ष २०७६÷२०७७ का लागि १३ अर्व २४ करोेड १ लाख ९९ हजार रुपैयाँ वार्षिक राजस्व असुलीको लक्ष्य दिएको थियो । तर कार्यालयले ८ अर्ब ३५ करोड ६६ लाख ५२ हजार ६ सय १२ रुपैयाँ वा लक्ष्यको तुलनामा ६३ दशमलव १२ प्रतिशत मात्र रकम असुली गरेको छ । राजस्वले लक्ष्य पुरा नगर्नुमा धेरै कारण भएपनि मुख्य कारण सवैभन्दा बढी राजस्व असुली हुने वस्तुको आयातमा प्रतिबन्ध लगाउनु नै भएको ठहर भन्सार अधिकारीहरुको छ । यसैगरी कोरोना भाइरस संक्रमणका कारण पनि राजस्व असुली प्रभावित बनेको कार्यालयका सूचना अधिकृत समेत रहनुभएका भन्सार अधिकृत भरतराज अधिकारीले बताउनुभयो ।

यस्तैगरी भारतको पश्चिम बंगाल सरकारले नेपालसँग सीधा सीमा जोडिएको भारतको पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा मेची भन्सार कार्यालयको १ अर्ब १० करोड रुपैयाँ राजस्व प्रभावित बनेको कार्यालयको भनाई छ । नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागले मेची भन्सार कार्यालयका लागि चालू आर्थिक बर्ष २०७७÷०७८ का लागि गत आर्थिक बर्षको तुलनामा १० प्रतिशत बढी राजस्व अशुलीको लक्ष्य तोकिदिएको छ । अहिले नाकाबाट आयात निर्यातको काम भईरहेको हुँनाले तोकिएको लक्ष्य पुरा गर्न सकिने भन्सार अधिकारीहरुको भनाई छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.