धनगढी, २६ साउन : बूढीगंगा नदीको बाढीले आइतबार राति बाजुराको तटीय क्षेत्रका बस्तीमा क्षति पुर्याउनुका साथै एक जनालाई बगाएर बेपत्ता बनाएको छ । बडिमालिका नगरपालिका–२ घाँघर टोलमा बाढीले घर भत्काएको छ ।
आइतबार रातिको अविरल वर्षासँगै आएको बाढी, पहिरोले बुढीगंगा नदी बस्तीमा पसेको छ। नदी बडिमालिका नगरपालिकाको घागर, रापक, जडाङ्गा, तिपाडा, ओलेना, लगायतका बस्तीमा पसेको हो।
बाढीमा परी बडिमालिका नगरपालिका–२ का वडा अध्यक्ष डम्बर महत्तकी आमा ६५ वर्षीया अइसेनी महत्त बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिइको छ। लगातार अत्याधिक पर्दा नदीमा बहाब बढेर साफेँ-मार्तडी सडकस्थित बुढीगंगा नदीको जडाङ्गामा बनाइएको बेलीब्रिज बगाएको प्रहरीले जनाएको छ।
नदीमा पानीको बहाब बढेपछि नदी किनारका बस्तीका स्थानीय विस्थापित भएका छन् भने लाखौँको धनमालको क्षति भएको छ। नदी बस्तीमा पसेको खबरपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको उद्धार टोली सोमबार बिहान ३ बजे सदरमुकाम मार्तडीबाट हिडेपनि बाटोमा पहिरोको कारण बिहान मात्र घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

No comments:
Post a Comment