बेरुतमा विस्फोट, ७८ जनाको मृत्यु ,चार हजार घाइते - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 5 August 2020

बेरुतमा विस्फोट, ७८ जनाको मृत्यु ,चार हजार घाइते

काठमाडौँ, २१ साउन : लेबनानको राजधानी बेरुतमा भएको विस्फोटमा ७८ जनाको मृत्यु भएको छ भने करिब चार हजार घाइते भएका छन् । 

लेबनानका प्रधानमन्त्री हसन डेबले करिब दुई हजार ७५० टन बराबरको एमोनियम नाइट्रेट विस्फोट भएको र सो वस्तु गोदाम घरमा विगत छ वर्षदेखि भण्डार रहेको जनाउनुभएको छ ।

विष्फोटपछि बेरुतका अस्पतालहरू घाइतेहरूले भरिएका छन् भने त्यहाँको रेडक्रसले घाइतेको उपचारमा रगत अभाव हुन सक्ने भन्दै रक्तदानका लागि आग्रह गरेको सीएनएनले जनाएको छ ।

विस्फोटका बारेमा अनुसन्धान सुरु भइसकोको अधिकारीहरुले जनाएका छन् र लेबनानको सर्वोच्च अदालतको डिफेन्स काउन्सिलले दोषीहरुलाई कडा सजाय हुने बताएको छ । सन् २०१४ देखि एउटा गोदाममा विस्फोटक पदार्थ एमोनियम नाइट्रेट राखिएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार गोदामको वरिपरि रहेका सबै भवनहरु ध्वस्त भएका छन् । विस्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार उक्त विस्फोट बेरुतको बन्दरगाह क्षेत्रमा भएको हो । पहिलो विस्फोट भएको केही समयमा दोस्रो विस्फोट पनि भएको बीबीसीले जनाएको छ । अधिकारीहरूले विस्फोटमा हताहती हुनेको संख्या निकै भएको हुन सक्ने अनुमान गरेका छन् । सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनमा राखिएका भिडियोमा निकै ठूलो धूवाँको मुस्लो उडेको तथा भौतिक संरचनामा निकै क्षति भएको देखिएको छ ।

लेबनान सरकारले राहत र उद्धारका लागि तत्काल एक सय अर्ब लिरा(करिब ८ अर्ब नेपाली रुपैयाँ) को प्याकेज घोषणा गर्ने बताएको छ ।

पूर्वप्रधानमन्त्री रफिक हरिरीको सन् २००५ मा भएको हत्याको मुद्दामा फैसला आउनु केही समयअघि ती विस्फोटन भएका हुन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.