राजमार्गका होटलमा निगरानी बढाइने - pharaksandesh.com

मुख्य समाचार


Friday, 7 August 2020

राजमार्गका होटलमा निगरानी बढाइने

मुग्लिन, २३ साउन : इच्छाकामना गाउँपालिकाले कोरोना रोकथामका लागि गाउँपालिकाभित्र सञ्चालित व्यवसायहरुमा कडाइका साथ निगरानी गर्ने भएको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको अध्यक्षतामा बिहीबार बसेको कोरोना नियन्त्रण समितिको बैठकले गाउँपालिकाभित्र रहेका होटल, सवारी साधन, तरकारी सङ्कलन केन्द्र (बजार) तथा अन्य सञ्चालित व्यवसायले कोरोनाबाट जोगिन आवश्यक सुरक्षाका मापदण्ड लागू गरेको छ÷छैन भनी निगरानी राख्ने निर्णय गरेको छ ।

विशेष गरेर राजमार्ग क्षेत्रका होटलमा सामाजिक दूरी कायम गरेको छ कि छैन ? मास्क र स्यानिटाइजर प्रयोग गरेको छ कि छैन ? लगायतका विषयमा समितिले निगरानी राख्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिनुभयो । काठमाडौँ भित्रिने मुख्य राजमार्गमा रहेका मुग्लिन, कुरिनटार, लेवाटार, चुम्लिङलगायतका बजार इच्छाकामना गाउँपालिकाभित्र पर्दछ । यी क्षेत्रमा राजधानी भित्रिने र बाहिरिने यात्रुका लागि सञ्चालित होटल बन्दाबन्दी खुलेसँगै सञ्चालनमा आएका कारण कोरोना सङ्क्रमणको उच्च जोखिम रहने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विशेषगरी राजमार्ग क्षेत्रका होटल बन्दादन्दी खुलेसँगै सञ्चालनमा आएका छन्, तीन होटलमा सुरक्षाका उपाय अपनाएको छ कि छैन हामी निगरानी गर्नेछौँ ।

बैठकको निर्णयानुसार अनिवार्य मास्क प्रयोग गरेर मात्र बाहिरी जिल्ला तथा अन्य पालिकाबाट गाउँपालिका प्रवेश गर्न पाइने छ । साथै उहाँले लकडाउन अवधिभर बन्द रहेका होटल व्यवसायीलाई घरभाडा छुट दिनका लागि उद्योग वाणिज्य सङ्घ तथा होटल व्यवसायी सङ्घको समन्वयमा घरधनीलाई आग्रह गर्ने निर्णय गरिएको पनि बताउनुभयो । यातायात सञ्चलानका लागि चालक तथा यात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र भीड नहुने गरी यात्रु बोक्न पाइने छैन ।

गाउँपालिकाभित्रका तरकारी उपज सङ्कलन केन्द्रहरुमा कोरोनाबाट जोगिनका लागि आवश्यक सुरक्षाका उपाय लागू गराउन समितिसमेत गठन गरेको छ । कृषि शाखा प्रमुख आनन्द घिमिरेको संयोजकत्वमा किसान, सहकारी सञ्चालक स्थानीय व्यपारी र स्थानीय सम्मिलित समिति गठन गरेको हो । साथै गाउँपालिका कार्यालयमा अतिआवश्यकबाहेकका सेवा एक बारमा एक वडालाई मात्र दिइने निर्णय गरिएको उहाँले बताउनुभयो ।

अहिलेसम्म विदेश तथा बाहिरी जिल्लाबाट आएकालाई क्वारेन्टिनमा राखिएको र उनीहरु सबैको पिसिआर नेगेटिभ आएको उहाँले बताउनुभयो । हालसम्म सुरक्षित रहेको गाउँपालिकामा कोरोना भित्रिन नदिन प्रत्येक वडामा जनप्रतिनिधि, टोल सुधार समिति, स्वाथ्य संस्थाका प्रतिनिधि, सुरक्षा निकायलगायत समेटिएर समिति गठन गरी काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.