प्रदेश १ : प्रचलित लोपोन्मुख लोकबाजा अनुसन्धान गरिने - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 19 August 2020

प्रदेश १ : प्रचलित लोपोन्मुख लोकबाजा अनुसन्धान गरिने

काठमाडौँ, ३ भदौ : विशिष्ट संस्कार र संस्कृतियुक्त विविध जातजाति र भाषाभाषीको सघन बसोबास रहेको प्रदेश नं १ मा प्रचलित मौलिक तथा लोपोन्मुख परम्परागत लोकबाजासम्बन्धी अध्ययन–अनुसन्धान गरिने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, सङ्गीत विभागको संयोजनमा यस्तो अध्ययन–अनुसन्धान गरिने भएको हो । 

मानव सृष्टिको आरम्भदेखि नै मानिसले चाडपर्व, मेला, जात्रा आदिमा मनोरञ्जनका माध्यमका रूपमा प्रयोग गर्दै आएका टुङ्ना, मादल, सारङ्गी, डम्फू, खैँजडी, दमाहा, ट्याम्को, बाँसुरी, ढोल, च्याबु्रङ, सहनाई, झ्याली, ढोलकी, नरसिङ्गा, कर्नाल, मुरली, मुर्चुङ्गा, बिनायो जस्ता मौलिक र परम्परागत मौलिक नेपाली लोकबाजाको समाजमा विशिष्ट स्थान र पहिचान रहेको र तिनको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले अध्ययन–अनुसन्धान गर्ने निर्णय गरिएको विभागीय प्रमुख अशोक राईले बताउनुभयो ।

प्राज्ञ राईले भन्नुभयो, “परम्परागत मौलिक लोकबाजाहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि दीर्घकालीन योजना बनाएर युवा पुस्तालाई तिनका बारेमा सचेतना जगाउनु र आर्यआर्जनसँग जोड्नु आजको आवश्यकता हो । यो अध्ययन–अनुसन्धानको उद्देश्य पनि त्यही नै रहेको छ ।” उहाँका अनुसार अनुसन्धानमा बाजाहरूको इतिहास, परिचय, ऐतिहासिक तथा सांंस्कृतिक पक्ष, बाजा प्रयोग गर्ने जाति, समुदाय र बाजा पाइने क्षेत्रलाई समेटिने छ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.