होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई प्रतिदिन रु ३५० - pharaksandesh.com

मुख्य समाचार


Thursday, 20 August 2020

होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई प्रतिदिन रु ३५०

काठमाडौँ, ४ भदौ : टोखा नगरपालिकाले कोरोना पोजेटिभ भइ होम आइसोलेशनमा बस्न चाहने सङ्क्रमितलाई सन्तुलित भोजनका लागि प्रतिव्यक्ति प्रतिदिन रु ३५० उपलब्ध गराउने भएको छ । नगरपालिकाको बुधबार बसेको ६० औँ नगर कार्यपालिकाको बैठकले कोरोना सङ्क्रमित भइ होम आइसोलेशनमा बस्न चाहने व्यक्तिलाई स्वास्थ्य शाखाको सिफारिसको आधारमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । टोखाले कोभिड–१९ सँग सम्बन्धित कार्यमा खटिने स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता उपलब्ध गराउने बारेमा समेत छलफल चलाएको छ । धापासी स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्य स्वयम् सेविका मन केसीलाई उपचार खर्चवापत रु ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ । 

कोरोना नियन्त्रण तथा रोकथाममा प्रत्येक वडाबाट खटिएका बढीमा १५ जना स्वयम् सेवकलाई सम्बन्धित वडा कार्यलयको सिफारिसको आधारमा राष्ट्रिय बीमा कम्पनीमार्फत कोरोना बीमा प्रक्रिया अगाडि बढाउने निर्णय भएको नगरप्रमुख प्रकाश अधिकारीले राससलाई जानकारी दिनुभयो । टोखाले विष्णुमति करिडोर निर्माणको सम्बन्धमा सरोकारवालासँग आवश्यक छलफल गरी प्रक्रिया अगाडि बढाउने भएको छ । बैठकले आजदेखि जिल्ला प्रशासन कार्यालयले लगाएको निशेषाज्ञालाई कडाइका साथ लागू गर्ने निर्णयसमेत गरेको छ । 

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको भन्दै टोखाले वडा नं १ को सामुदायिक भवन, वडा नं ६ को सामुदायिक अध्ययन केन्द्र, वडा नं ९ को पिस बैङ्केट, वडा नं ११ को सामुदायिक भवन, वडा नं ९ को नेवाः पुछः सामुदायिक भवन, वडा नं ७ को राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको भवनलाई अध्ययन गरी कोरोना सङ्क्रमित राख्ने व्यवस्था मिलाउन अध्ययन गर्ने बताएको छ । यस्तै, टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यकताअनुसार भेन्टिलेटर व्यवस्था गर्न अध्ययन गरी कार्यान्वयनका लागि नगरपालिकाका उपप्रमुख ज्ञानमायाँ डङ्गोलको संयोजकत्वमा ९ सदस्यीय समितिसमेत गठन गरेको छ । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.