मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छः राष्ट्रपति - pharaksandesh.com

मुख्य समाचार


Saturday, 19 September 2020

मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छः राष्ट्रपति

काठमाडौँ, ३ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले संविधान दिवसको यस दिनले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यता कार्यान्वयन गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

संविधानको मर्म र भावनलाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आआफ्नातर्फबाट इमान्दार प्रयास जारी राख्न राष्ट्रपतिले सबैलाई आह्वान गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले चालिरहेका कदमको सराहनाका साथ त्यसमा चाँडो सफलता मिल्ने अपेक्षा गर्नुभएको छ ।

संविधानको कार्यान्वयनमार्फत नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न पनि राष्ट्रपतिले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७७ अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले संविधान दिवसको अवसरमा गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा अमूल्य जीवन गुमाउने ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका आन्दोलनको पथप्रदर्शन गर्ने अग्रजप्रति सम्मान एवम् श्रद्धासमेत व्यक्त गर्नुभएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.