काठमाडौँ, १९ भदौ : जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेपछि ललितपुरको अवस्था सामान्य बनेको छ । रातो मच्छेन्द्रनाथको रथयात्रालाई लिएर बिहीबार पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो ।
बिहीबार रातो मच्छेन्द्रनाथको रथ तान्ने विषयमा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यू लगाएको हाे । महानगरीय प्रहरी प्रभाग ललितपुरका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले कर्फ्यूपछि अवस्था सामान्य बनेको बताउनुभयो । उहाँले कर्फ्यूको पूर्ण पालना भएको जानकारी दिनुभयो । बिहीबार रथ तान्ने समूहले ट्राफिक प्रहरीलाई कुटपिट गरेका थिए । तिनीहरूमध्ये नौ जनालाई प्रहरीले पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । अहिले क्षमा पूजा भइरहेको र अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।
त्यस्तै हिजै स्थानीय सराेकारवाला, जनप्रतिनिधिहरू समेत सहभागी बैठकले घटनामा स्थानीय गुठी वा कुनै समूहकाे सहभागिता नभएकाे भन्दै घटनाप्रति खेद व्यक्त गरेका थिए । साथै बैठकले याे वर्षकाे भाेटाे जात्रा नगर्ने निर्णयसमेत गरेकाे थियाे ।
No comments:
Post a Comment