नेपाललाई यस आर्थिक वर्षभित्रै सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने प्रधानमन्त्रीको भनाइ - pharaksandesh.com

मुख्य समाचार


Monday, 14 September 2020

नेपाललाई यस आर्थिक वर्षभित्रै सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने प्रधानमन्त्रीको भनाइ

काठमाडौ, २९ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको हक, हित र उनीहरुका अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको छ ।

राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले अभिभावक गुमाएर अनाथ भएका र आधारभूत आवश्यकता पूरा हुन नसकी सडकमा बेवारिसे जीवन विताइरहेका बालबालिकाको राज्यले संरक्षकत्व ग्रहण गर्ने काम थालिएको जानकारी दिनुभएको छ ।

सन्देशमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ – ‘सडक बालबालिकामुक्त राष्ट्र’ अभियान अन्तर्गत यस आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने नीति सरकारले लिएको छ ।

बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानुनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरुलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता उहाँले जनाउनु भएको छ ।

बालबालिकाको शारीरिक, मानसिक विकासका लागि सन्तुलित आहार, स्वच्छ उपयुक्त आवास, उपयुक्त प्रविधि प्रयोग सहितको स्तरीय शिक्षाको अधिकार, देशभक्ति, मानवता, सामाजिकता, उद्यमशीलता र रचनात्मकताको भावधारा जगाउने गुणवत्त शिक्षादीक्षाको अधिकार सुनिश्चित गर्ने यस सरकारको नीति रहेको पनि सन्देशमा उल्लख छ ।

स्वस्थ्य रहन पाउने तथा उपचारको अधिकार, शारीरिक मानसिक दुर्बलता भएका बालबालिका समेतको भेदभाव बिरुद्धको समानता र समन्यायको अधिकार रक्षा, शारीरिक र मानसिक विकासका लागि खेलकूद र मनोरञ्जनको अधिकारजस्ता बालअधिकार र बाल अधिकारसँग सम्बन्धित सम्पूर्ण अधिकारहरुको प्रत्याभूति अहिलेको सरकारका प्रतिवद्धता उहाँले दोहोर्‍याउनु भएको छ ।

प्रधानमन्त्री ओलीले संसार नै अहिले कोभिड–१९ को महामारीबाट आक्रान्त रहेको र हाम्रा बालबालिकाको जीवन र पठनपाठनमा यसले गम्भीर असर पारेको उहाँले उल्लेख गर्नुभएको छ । संकटको यस घडीमा विद्यमान प्रणालीमा परेको नकरात्मक प्रभावलाई नयाँ सम्भावनाको द्वारसम्म पुर्‍याउने गरी बालबालिकाका अधिकार र सुरक्षामा सक्रिय रहन सम्पूर्ण संयन्त्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था, नागरिक समाज सबैमा उहाँले आह्वान गर्नुभएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.