प्रिय सरकार,
धेरै धेरै सम्झना।
घरबाट हिँडेको छ महिनापछि
म तिमीलाई यो चिठी लेख्दैछु।
चिठी सँगसँगै
केही माना आशा र
केही बण्डल परिश्रम
पनि पठाएको छु।
मेरो यो परिश्रम तिमी
मेरा परिवारसमक्ष
जसरी पनि पुर्याइदिनू।
सरकार!
मेरो घर जाने बाटो अलि अप्ठ्यारो छ
तिमी चढेको गाडी भीरमा खस्ला,
त्यसैले बिस्तारी चलाउनू,
तिमी तुइनमा झुण्डिँदा
मेरो परिश्रम तिम्रो खल्तीबाट चुइएला
अनि कुनै खोलाले बगाउला
त्यसैले सतर्क भएर जानू।
मेरो घरको ढोकैमा मेरो साहु
तिमीलाई नै पर्खेर बसिरहेको होला
उसलाई उसको भागको पैसा दिइहाल्नू
र साथमा मैले पठाएका केही फेन्सी सम्झना
मेरा परिवारलाई तिमी थमाइ आउनू।
फर्किँदा तिमी मेरो
घर अगाडिको बाटो भइ फर्किनू सरकार,
विदेशिनलाई लाममा उभिएका
मेरा गाउँका ती नवजवानहरुलाई
तिमी मेरो दुःखको कथा सुनाइदिनू।
छुवाछुत र अन्धविश्वासले
डेरा जमाएको मेरो त्यो गाउँमा
तिमी शिक्षा, चेतना र नियम-कानूनको
मूल फूटाई फर्किनू।
अलि पर,
मेरा गाउँका,
ती लाचार छाउपडी, वादी र झुमा
दिदी बहिनीहरुलाई
तिमी विकाश र साक्षरताको
न्यानो ओढ्ने ओढाइ आउनू।
बाटोमा पर्ने अनाथ आश्रमका
ती मलिन अनुहार र
वृद्धाश्रमका ती चाउरी परेका छालालाई
केही प्याकेट चकलेट बिस्कुट दिई
कोही नभएकाहरुको तिमी
भगवान बनि आउनू।
शहर आई सर्वप्रथम तिमी
माइतीघर मण्डलाको
त्यो ठूलो झण्डामूनि उभिएर
सबै जनताका कुरा सुन्नू सरकार,
एकदम ध्यान दिएर सुन्नू।
समानता र समताबीचको भेद छुट्ट्याई
ती सम्पूर्ण शोषक, अत्याचारी, पापीहरुलाई
त्यै दिनारबाट
फाँसी दिन तिमी डोरी अवश्य किन्नू सरकार,
उनीहरुलाई 'पाप धूरीबाट कराउँछ'
भन्ने पाठ सिकाई
पीडितहरुलाई तिमी न्याय पक्का दिलाउनू।
प्रिय सरकार!
पानीजहाज ल्याउने तिम्रो त्यो ठूलो सपना पनि
म अवश्य पूरा गर्नेछु
तर हाललाई, मेरो कमाइले
दूरदराजका गाउँसम्म एम्बूलेन्स पूग्ने
पक्की बाटो बनाउन पक्का पुग्नेछ,
कृपया त्यही बनाइदिनू।
रेमिटेन्सको नाममा आएको मेरो परिश्रमले
तिमी आफ्नो ढुकुटी बलियो नपार्नू सरकार,
दिनैपिच्छे फेरी-फेरी कोट-प्यान्ट
तिमी नलगाउनू।
बस् जनताका घर बलियो पार्दिनू,
हरेक निमुखाहरुको आङमा
एक सर्को लुगा तिमी लगाइदिनू,
विकाशका पूर्वाधारलाई तिमी बलियो पार्नू,
आफ्नो कर्तव्य तिमी जसरी पनि निभाउनू।
म फर्केर आउँदिन भनि
मेरो मिहिनेतमाथि खेलवाड नगर्नू सरकार,
म फर्केर आउनेछु, म अवश्य आउनेछु
र तिमीसँग म मेरो कमाइको
एक एक हिसाब माग्नेछु।
प्रिय सरकार!
मैले तिमीमाथि धेरै विश्वास गरेर
यो चिठी लेखेको छु,
विन्ती छ!
विश्वासघात नगर्नू।
उही तिम्रो,
एक विवश परदेशी नागरिक।।।
भिडियाे हेर्नुहाेस् :
भिडियाे हेर्नुहाेस् :
No comments:
Post a Comment