म बाँच्न चाहन्थेँ
आशा उमंग साँच्न चाहन्थेँ
सुडोल, सुन्दर, सशरीर यस धर्तीमा जन्मिएर
जिजीविषाहरूको सुन्दर मनसुनमा
जीवनको फल फलाउन चाहन्थें
तर....म फुल्न नपाउँदै
जीवनका रहरे पंखुडीहरू छुट्टिन नपाउँदै
कर्मको सुवास फैलन नपाउँदै
प्रविधिले मेरो लिङ्ग च्यातेर हेरी
मलाई कोपिलामै निमोठ्ने
हत्यारो मान्छे मुर्दावाद!!
जन्म र मृत्युका
सुख र दुःखका
आशा र निराशाका
निरीहताका र विवशताका
अन्याय र यातनाका
घृणा र तिरस्कारका
भयभित्रको स्वतन्त्रताका
दु:ख सागरहरू भोग्दै सहँदै
भँवराले वन वनान्तर घुमेर
पुष्पको सार संग्रह गरी अमृत निर्माण गरेझैँ
हजारौं जुनीका आरोहअवरोह छिचोल्दै
लामो समयको अन्तरालपछि
पुरा मान्छे बनेर जन्मन कोपिला बनेको छु
र, चाहन्छु जन्मिन पूरा मान्छे बनेर
तर...मेरो कर्मको जीवन बाँच्न नदिई
मलाई कोपिलामै निमोठ्ने
आततायी हत्यारो मान्छे मुर्दावाद!!
पृथ्वी जल तेज वायु आकाश पंचतत्त्वमध्ये
गन्धरुपी पृथ्वी
रसरुपी जल
रुपरुपी तेज
स्पर्शरुपी वायु
र शब्दरुपी आकाशबाट
अव्यक्त त्रिगुण लिएर
भोक, प्यास, थकाइ, हर्ष, विस्मात्, चिन्ता, डर,
मन, बुद्धि, चित्त,अहंकारयुक्त बनेको
चोला बाँच्न नदिने
हत्यारो अपराधी मान्छे मुर्दावाद!!
गुणहीन अविकार होस्
या, गुणको रंग होस्
पञ्चमहाभूत
पंच तन्मात्रा
पञ्च ज्ञानेन्द्रिय
पञ्च कर्मेन्द्रिय
अनि मन, बुद्धि, अहम् र चित्तको
चौबिस तत्त्वको साकार स्थूल
तर..जन्म, कर्म र मृत्युका रहस्यले भरिएको
जीवन, फक्रिनै नदिने
कसाइ हत्यारो मान्छे मुर्दावाद!!
तेरो मेरो भावनाको किल्लाभित्र
स्वार्थ र अहंको विषालु सर्प पालेर
आफ्नो सेखी झार्न
कुनै नव जीवनको हत्या गर्ने
पामर हत्यारो मान्छे मुर्दावाद!!
मानवअधिकारकर्मी ?
नागरिक अधिकारकर्मी?
न्यायकर्मी?
चिन्तक ?
दार्शनिक?
डाक्टर?
वकिल ?
आदिका खोलभित्र मौनता साँचेर बाँचिरहेको
डरलाग्दो नरभक्षी हत्यारो मान्छे मुर्दावाद!!
हजारौँ जुनी
हजारौँ यात्रा
हजारौं कष्ट
हजारौं जन्म र मृत्युको
चर्खे पिङपछि
रहर र उमङ्गका खातैखातहरुले भरिएको
उत्कृष्ट जीवनको कोपिला
फकृन नपाउँदै
प्रविधिले लिङ्ग निर्क्योल गरी
निर्ममतापूर्वक कोपिला निमोठ्ने
हत्यारो पापी मान्छे मुर्दावाद!!! मुर्दावाद!!!
मुक्ति ढकाल
नवलपुर

No comments:
Post a Comment