चीनले अघि सारेकाे बीआरआई परियाेजना स्थायित्व र विकासका लागि महत्त्वपूर्ण : प्रचण्ड - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 20 October 2020

चीनले अघि सारेकाे बीआरआई परियाेजना स्थायित्व र विकासका लागि महत्त्वपूर्ण : प्रचण्ड


काठमाडाैँ, ४ कात्तिक :
पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको बीआरआई परियोजना महत्त्वपूर्ण हुने बताउनुभएको छ । 

मङ्गलबार चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति, स्थायित्व र विकासका लागि बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना महत्त्वपूर्ण हुने बताउनुभएको हो । बीआरआई परियोजनाबाट चीन र नेपाल दुवै देशले फाइदा लिन सक्ने भएकाले यसलाई आफूले महत्त्वपूर्ण अवसरको रुपमा लिएको समेत अध्यक्ष प्रचण्डले बताउनुभयो । यस्तै गएकाे वर्ष चिनियाँ राष्ट्रपति सी जनिपिङकाे नेपाल भ्रमणमा भएका सम्झौताले पनि दुई देशको भावनालाई समेटेको उहाँले बताउनुभयो । 

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले बीआरआई यस क्षेत्रको नवीनता, उत्पादकत्व र प्रगतिका लागि महत्त्वपूर्ण हुने बताउनुभयो । बीआरआई परियोजनाले दुई देशबीच वित्तीय एकीकरण र नीति समन्वयका लागि काम गर्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो । 

त्यस्तै बीआरआईले नेपाललाई विश्वव्यापी मूल्य शृङ्खलामा पहुँच पुर्‍याउन सघाउ पुग्ने पूर्वप्रधानमन्त्री भट्टराईले बताउनुभयो । बीआरआईका नाै वटा आयोजना अन्तर्गत ट्रान्स–हिमालयन कनेक्टिभिटीले नेपाली नागरिकलाई सबैभन्दा बढी आकर्षित गरेको समेत उहाँले बताउनुभयो । यसले नेपालको भूराजनीतिक परिवर्तनमा महत्त्वपूर्ण हुने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले बेल्ट एण्ड रोड परियोजना अन्तर्गत छनोट गरेका नाै वटा आयोजनालाई छिट्टै अन्तिम रुप दिएर कार्यान्वयनमा जानुपर्ने बताउनुभयो । यस्तै नेपालले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई सार्थक बनाउनसमेत बीआरआई परियोजना महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो । 

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग मन्त्री सोङ ताओ, चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत कमिटीका सेक्रेटरी वु यिंगजीलगायतले सम्बोधन गर्नुभएको थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङकाे नेपाल भ्रमणको वार्षिकोत्सवको अवसर पारेर चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले ‘चीन–नेपाल बेल्ट एण्ड रोड को–अपरेशनमा राजनीतिक दलहरुको प्रथम संयुक्त परामर्श सम्मेलन’ आयोजना गरेको हो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.