कोरोना कहर : अझै उक्सिन सकेनन् सैलुन व्यवसायी - pharaksandesh.com

मुख्य समाचार


Wednesday 7 October 2020

कोरोना कहर : अझै उक्सिन सकेनन् सैलुन व्यवसायी


सुर्खेत, २१ असाेज :
कोभिड–१९को महामारीको यो समयमा धेरैपछि पसल व्यवसायहरु सहज रुपमा खुलेपनि सर्वसाधारणमा त्रास हटिसकेको छैन । यो शंका, त्रास कोभिड निमूल नहुन्जेलसम्म भइरहन्छ नै । व्यवसायहरु खुलेपनि सामान्य अवस्थाको बेलामा जस्तो हुन अझै केही समय पक्कै लाग्नेछ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सैलुन व्यवसाय गरिरेहका नाइहरुले पनि यस्तै समस्या भोगिरहेका छन् । सैलुन खोल्न थालेपनि दाह्री, कपाल काट्नेहरु पहिलेजस्तो नरहेको उनीहरु बताउँछन् । पहिले एकै सैलुन दुई तीन जना नाइसम्म व्यस्त हुन्थे, अहिले एकै जनालाई पनि खास काम छैन् ।

त्यसैले सैलुनले घर गएका सहकर्मी नाइलाई सुर्खेत बोलाउन सकेका छैनन् । कतिले कपाल काट्न आउँदा पिसिआर रिपोर्ट खोज्ने गरेको नाइहरु बताउँछन् । केहीले पिसिआर नेगेटिभ रिपोर्ट सिसामा टाँसेर पनि राखेका छन् । तर त्यो रिपोर्टको म्याद के कहिलेसम्म भन्ने कोभिड–१९ को प्रकृति अनुसार यकिन भन्न सकिदैन । उनीहरु भन्छन, ‘उहाँहरु त हाम्रो पिसिआर रिपोर्ट खोज्नुहुन्छ, हामीले उहाँहरुको खोज्न मिलेन । हामी पनि जोखिममै छौं, तर सैलुन नखोली के गर्नु ? अहिले त धेरै घरै बस्छ, कपाल, दाह्री बढ्दैन कि के हो ? सैलुनमा खासै काम छैन ।’ यद्यपि ! जो कुनै मानिस सुन्दर र आकर्षक देखिन चाहन्छन् । आकर्षक बन्न महत्वपूर्ण भूमिका सैलुन व्यवसायको पनि हो ।

विभिन्न आकर्षक डिजाइनमा कपाल कटाउन, दाह्री काट्न, फेसियल गराउन, कपाल कलर गराउन प्रायःजसो सर्वसाधारणलाई सैलुन धाउनैपर्छ । तर, अहिले कोरोनाका कारण यो व्यवसायमा संलग्नहरुले धेरै मुश्किलको सामना गर्नु परिरहेको छ ।

कपाल काट्ने एक सिपमूलक व्यवसाय हो । आफ्नो सिप प्रयोग गरेर व्यवसाय सञ्चालन गर्नेहरु अहिले विचल्लीमा छन् । परिवार पाल्न, घरधनीलाई भाडा बुझाउन र कामदारलाई मासिक तलब दिन ठूलो समस्या परेको सैलुन व्यवसायीको गुनासो छ ।

कोभिडले सैलुन व्यवसाय धराशायी बनाएको कृष्ण हेयर सैलुनका सञ्चालक जयकुमार ठाकुरको गुनासो छ । वीरेन्द्रनगरको हटिया लाइनमा सैलुन पसल सञ्चालन गरेका जयकुमारको चैत ११ गतेदेखि नै व्यवसाय पूर्णरुपमा बन्द थियो । लकडाउन खुकुलो भएसँगै डराइ–डराइ पसल खोले पनि राम्रोसँग व्यवसाय चल्न नसक्दा उनलाई परिवार पाल्न धौ धौ भइरहेको उहाँ बताउनुहुन्छ । जयकुमारका ३ भाइसँगै १४ जनाको परिवार वीरेन्द्रनगर हरियाली टोलमा एउटा फ्ल्याट भाडामा लिएर बस्दै आउनु भएको छ ।

यसका लागि मासिक साढे १७ हजार भाडा र पसलको २० हजार भाडा पनि तिर्नुपर्छ । ‘पसल बन्द हुँदा कोठा र पसलको भाडा तिर्न मुश्किल भयो’, जयकुमारले भन्नुभयो, ‘एउटा पसलको एक महिनाको भाडा छुट पाउँदा खुसी लाग्यो तर अर्को पसलको घरधनीले छुट दिनुभएन ।’ वीरेन्द्रनगरका सैलुनहरुमा ५० हजारदेखि ३० लाखसम्म लगानी छ । साना सैलुनमा कम्तीमा ३ जना र ठूलामा १५ जनासम्मले रोजगारी पाएका छन् । राज्यले सैलुन व्यवसायीको व्यवसाय जोगाउन विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

कोरोना भाइरस सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले होटल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लरलगायतका केही व्यवसाय सञ्चालनमा यसअघि रोक लगाएको थियो । यसले गर्दा तराई मधेशबाट यहाँ आएर भाडामा बस्दै आउनु भएका सैलुन व्यवसायी ठूलो आर्थिक चपेटामा परेका छन् । दाह्री, कपाल काटेर गुजारा चलाउँदै आएका व्यवसायीले ६ महिनादेखि व्यवसाय ठप्प हुँदा आफूहरु मर्कामा परेको बताउछन् ।

नेपाल नाई संघ सुर्खेतका अनुसार सुर्खेत उपत्यकामा झण्डै ५० सैलुनहरुमा दुई सय युवाहरुको रोजगारी गुमेको छ ।

अर्जुन ठाकुरको वीरेन्द्रनगर बजारमा सैलुन छ । व्यवसाय चलाउन लिएको सटरको मासिक २५ हजार रुपैयाँ भाडा तिर्नुपर्छ । जनकपुरका स्थायी बासिन्दा उहाँ दुई दशक बढी समयदेखि यहाँ अर्जुन केश सुधार गृह नामको सैलुन चलाउनुहुन्छ ।

वर्षांैदेखि कपाल दाह्री काट्ने काम गरिरहेका उहाँलाई लकडाउन, निषेधाज्ञालगायतले निकै भारी नोक्सानी दिएको थियो । अहिले खुकुलो भएसँगै केही राहत पुगेको उहाँबताउनुहुन्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.