चिकित्सक सङ्घद्वारा आन्दोलनको घोषणा, शुक्रबार देशभरका अस्पतालमा सेवा बन्द - pharaksandesh.com

मुख्य समाचार


Wednesday 7 October 2020

चिकित्सक सङ्घद्वारा आन्दोलनको घोषणा, शुक्रबार देशभरका अस्पतालमा सेवा बन्द


काठमाडाैँ, २१ असाेज  :
डाक्टर गोविन्द केसीसँग वार्ता गरेर माग पूरा गर्न सरकारले चासो नदेखाएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

वार्ता टोली गठन गर्न असोज १८ गते सरकारलाई ७२ घण्टे अल्टिमेटम दिइएकोमा बेवास्ता गरेको भन्दै सङ्घले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

२२ गते बिहीबार बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरी सङ्घका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्राङ्गणमा जनस्वास्थ्यको मापदण्ड अपनाइ सामाजिक दुरी कायम गर्दै धर्ना गर्ने सङ्घले जनाएको छ ।

२२ गतेदेखि नै सङ्घका शाखा कार्यालयमा र देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल वा उपयुक्त ठाउँमा सामाजिक दुरी कायम गरी जनस्वास्थ्यको मापदण्ड अपनाइ अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर रिले अनसन गर्ने सङ्घले जनाएकाे छ ।

गोविन्द केसीको सत्याग्रह अन्त्यका लागि सहज वातावरण नगराएको अवस्थामा नेपाल चिकित्सक सङ्घले २३ गते शुक्रबार एक दिनका लागि देशैभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बहिष्कार गर्ने निर्णय गरिएको जनाएको छ । 

२३ गतेसम्म पनि सरकारले वार्ता टोली गठन नगरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चिकित्सक सङ्घकाे घाेषणा छ ।

सङ्घद्वारा घोषणा गरिएका विरोधका कार्यक्रमहरु बाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुने सङ्घले चेतावनी दिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.