काँग्रेस शीर्ष नेताको बैठक स्थगित - pharaksandesh.com

मुख्य समाचार


Tuesday 3 November 2020

काँग्रेस शीर्ष नेताको बैठक स्थगित


काठमाडौं, १८ कात्तिक :
नेपाली काँग्रेसका शीर्ष नेताको बैठक स्थगित भएको छ। पार्टीका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेको सूर्यबहादुर केसीको निधन भएपछि शीर्ष नेताहरुको बैठक स्थगित भएको हो ।

केसीको निधनको शोकमा मंगलबार दिउसो १ बजेलाई निर्धारित शीर्ष तहका नेताको बैठक स्थगित भएको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयाे । महतका अनुसार केसीको निधनमा पार्टी केन्द्रीय कार्यालय एक दिन बन्द रहने र तीन दिन पार्टी झण्डा झुकाउने छ।

पार्टीमा उत्पन्न विवादको समधानका लागि सोमबार काँग्रेस शीर्ष नेताहरुबीच छलफल भएको थियो । सोमबारको बैठकमा विवादित विषयमा समाधान ननिस्किएपछि मंगलबार १ बजे बस्ने गरि बैठक स्थगित भएको थियो।

पार्टी केन्द्रीय विभागको गठन, तिनमा भएका मनोनयन, भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समिति र क्रियाशील सदस्यताको वितरणसँग सम्बन्धित निर्णयहरू विधानविपरीत रहेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असोज ११ गते ज्ञापनपत्र दर्ता गरेको थियो ।

काँग्रेसमा पछिल्लो समय पौडेल पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूसमेत गरी २७ जनाले हस्ताक्षर गरेर पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको ज्ञापनपत्रमाथि छलफल भइरहेको छ । यसअघि सोमबार सुरु भएको अनौपचारिक बैठकमा उपसभापति विमलेन्द्र निधिले पौडेल पक्षले दर्ता गराएको ज्ञापनपत्रको बुँदागत व्याख्या गर्नुभएकाे थियाे ।

यसअघि असोज १७ गते पनि उक्त विषयमा काँग्रेस शीर्ष नेताबीच छलफल भएको थियो । केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापा लगायतलाई कोरोना संक्रमण पुष्टि भएपछि छलफल स्थगित भएको थियो ।

तर संस्थापनपक्षीय नेताहरूले पौडेल पक्षको ज्ञापनपत्रमाथि प्रस्टीकरण मात्र दिएपछि विवाद समाधान हुन सकेको छैन । २१ कात्तिकमा केन्द्रीय कार्यसमितिको बैठकअघि विवादित विषय टुङ्ग्याउन छलफलको निरन्तरता स्वरुपमा सोमबार नेताहरुबीच छलफल भएको थियो ।

क्रियाशील सदस्यता वितरणलगायतका पौडेल पक्षले उठाएका मुद्दामाथि उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले संस्थापन पक्षको धारणा राख्नुभएकाे थियाे ।

सोमबारको बैठकमा सभापति शेरबहादुर देउवाले पनि विभाग गठन बाहेकका विषयमा मात्र छलफल गर्न तयार रहेको बताउनुभएकाे छ  ।

तर पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने पौडेल पक्षले उठाएका मुद्दालाई किनारा लगाउन समिति गठनको माग राख्नुभएकाे  थियाे । समिति बनाएर १६ बुँदे अवधारणाका विषयमा छानबिन गरी समाधान निकाल्न उहाँले देउवालाई सुझाव दिनुभयाे । देउवाले धारणा राखिनसके पनि बीचबीचमा बोल्दै आफूले सबै काम विधानअनुसार नै गरेको दाबी गरेका थिए ।

आफूले उठाएका विषयमा छिनोफानो नभइ महाधिवेशनको तालिकाका विषयको छलफल हुन नदिने पौडेल पक्षको अडान छ ।

तर पौडेल पक्षले उठाएका विषय वास्तविक नभइ चुनावी मुद्दा मात्रै रहेको संस्थापन पक्षको टिप्पणी छ । २१ गतेको बैठकको मुल एजेण्डा नै महाधिवेशनको कार्यतालिका रहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.