अमेरिकी निर्वाचन परिणाम: डोनल्ड ट्रम्पले कहाँकहाँ कस्तोकस्तो मुद्दा हालेका छन् र के यो विषय सर्वोच्च अदालत पुग्ला? - pharaksandesh.com

मुख्य समाचार


Thursday 5 November 2020

अमेरिकी निर्वाचन परिणाम: डोनल्ड ट्रम्पले कहाँकहाँ कस्तोकस्तो मुद्दा हालेका छन् र के यो विषय सर्वोच्च अदालत पुग्ला?


अमेरिका, २० कात्तिक :
अमेरिकामा राष्ट्रपतीय निर्वाचनका डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले मतगणना परिणाममा अग्रता लिएका छन्।

तर उनका रिपब्लिकन प्रतिद्वन्द्वी राष्ट्रपति डोनल्ड ट्रम्पले मुख्य चार राज्यमा मतगणनालाई कानुनी चुनौती दिएका छन्।

ट्रम्पले कुन कुन राज्यमा के आधारमा कानुनी चुनौती दिएका छन्?

विस्कन्सिन
"मङ्गलवार देखिएका अनियमितताहरूका आधारमा" भन्दै ट्रम्पको चुनावी अभियान टोलीले विस्कन्सिनमा पुनः मतगणना हुनुपर्ने माग गरेको छ।

राष्ट्रपतिले विस्कन्सिन राज्यमा पुनः मतगणना गराउनका लागि औपचारिक माग गर्ने ट्रम्पको चुनावी टोलीले बताएको थियो।

त्यसका लागि "कतिपय विस्कन्सिन काउन्टीहरूमा भएका अनियमिताहरू" लाई कारणका रूपमा प्रस्तुत गरिने बताइएको छ।

घोषणा हुन बाँकी मतगणनाको परिणामले विस्कन्सिनमा ट्रम्प र बाइननबीच मतान्तर एक प्रतिशतभन्दा पनि कम रहेको देखाएका छन्। यस्तो अवस्थामा उम्मेदवारहरूले पुनः मतगणनाको माग गर्न पाउँछन्।

तर त्यस्तो मतगणनाको खर्च माग गर्ने उम्मेदवारले बेहोर्नुपर्छ।

तर त्यस्तो पुनः गणना कहिले होला भन्ने स्पष्ट छैन किनकि अधिकारीहरूले मतगणना परिणामको समीक्षा सम्पन्न नगरिकन त्यस्तो कार्य सामान्यतया सुरु हुन सक्दैन।

त्यो प्रक्रिया सम्पन्न गर्न उक्त राज्यलाई नोभेम्बर १७ सम्मको समय छ।

मिशिगन
ट्रम्पको चुनावी खेमाले मिशिगनमा जारी मतगणना रोक्न माग गर्दै मुद्दा दायर गरेको छ।

त्यहाँ मतपेटिका खोल्ने र गणना थाल्ने कार्यको सुरुआत गर्ने प्रक्रियाको अवलोकन गर्न आफूलाई "अर्थपूर्ण पहुँच" नदिइएको उनीहरूको दाबी छ।

मिशिगनको डिट्रोइट शहरमा बुधवार दिउँसो त्यहाँको एउटा मतगणना केन्द्रको सुरक्षाका लागि प्रहरी बोलाउन परेको थियो किनकी त्यहाँ केही विरोध प्रदर्शनकारीहरूको एउटा समूहले मतगणना प्रक्रियाको पर्यवेक्षण गर्न पाउनु पर्ने माग गरेका थिए।

डिट्रोइट फ्रि प्रेस पत्रिकाका अनुसार उक्त मतगणना केन्द्रको भवनभित्र पहिले नै २०० जना पर्यवेक्षकहरूले मतगणना कार्यको अवलोकन गरिरहेका थिए।

पेन्सिल्भेनिया
ट्रम्पको चुनावी अभियान टोलीले पेन्सिल्भेनियामा पनि त्यहाँ "अर्थपूर्ण पारदर्शिता कायम नहुन्जेलसम्म" मतगणना रोक्न दुईवटा मुद्दा दायर गरेको छ।

त्यहाँ राष्ट्रपतिले तीन अङ्कको अग्रता हासिल गरेका छन् तर अझै हजारौं मतगणना हुन बाँकी नै छ।

यहाँको मुद्दा मतदानको दिनको छाप लागेका हुलाकमार्फत् मतदान गरिएका मतपत्रहरू तीन दिनसम्म ढिलो गरी प्राप्त भएमा पनि तिनलाई मान्यता दिएर गणना गरिने उक्त राज्यको निर्णयसँग सम्बन्धित रहेको छ।

रिपब्लिकनहरूले त्यसविरुद्ध अपील गरेका छन्।

जोर्जिआ
राष्ट्रपति ट्रम्पले जोर्जिआमा पनि मतगणना रोक्न कानुनी चुनौती दिँदैछन्।

उनको चुनावी खेमाका अनुसार त्यहाँको च्याटम काउन्टीमा ढिलो गरी प्राप्त हुलाकबाट मतदात गरिएका ५३ वटा मतपत्रहरू गैरकानुनी रूपमा मिसाइएको एकजना रिपब्लिकन चुनाव पर्यवेक्षकले देखेका थिए।

ट्रम्पले सन् २०१६ को निर्वाचनमा विस्कन्सिन, मिशिगन र पेन्सिल्भेनियामा जित हासिल गरेका थिए।

सर्वोच्च अदालतको भूमिका
बुधवार बिहान सबेरै ह्वाइट हाउसबाट बोल्दै ट्रम्पले निर्वाचनमा विजय हासिल गरेको र यो विषयलाई सर्वोच्च अदालतमा लैजान तयार रहेको घोषणा गरेका थिए।

बाइपार्टीजन पोलिसि रिसर्च सेन्टर नामक संस्थाको निर्वाचन परियोजनाका निर्देशक म्याथ्यू वील भन्छन्,"कानुनी रूपमा सञ्चालित मतगणना प्रक्रिया रोक्नका लागि देशको सर्वोच्च अदालतसँग कुनै विशेष अधिकार छैन।"

ट्रम्पको चुनावी अभियान टोलीले मतगणना परिणामविरुद्ध दिइने कानुनी चुनौतीहरूका क्रममा हुने खर्च जुटाउन दाताहरूसँग चन्दाका लागि अनुरोध गरिरहेका छन्।

रिपब्लिकन न्याश्नल कमिटिकी अध्यक्ष रोना मकड्यानिएलले भनिन्,"यो लडाईँ समाप्त भएको छैन। हामी यसैमा छौँ।"

बाइडनको चुनावी अभियानका एकजना वरिष्ठ कानुनी सल्लाहकार बब बाउअरले कानुनी रूपमा भएको मतदानलाई अवैध तुल्याउन ट्रम्पसँग कुनै आधार नभएको बताएका छन्।(बीबीसीबाट)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.