व्यङ्ग्यकार पाँडे र हास्य कलाकार पौडेललाई भैरव पुरस्कार - pharaksandesh.com

मुख्य समाचार


Thursday 5 November 2020

व्यङ्ग्यकार पाँडे र हास्य कलाकार पौडेललाई भैरव पुरस्कार


काठमाडाैँ, २० कात्तिक : 
नेपाली हास्य-व्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६-७७ का लागि क्रमशः रामकुमार पाँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ । 

पाँडे चर्चित व्यङ्ग्यकार हुनुहुन्छ भने पौडेल हास्य कलाकारिता क्षेत्रमा स्थापित नाम हो । भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशि क्रमश - एक लाख र पचास हजार रुपैयाँ रहेको छ । 

वरिष्ठ साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्राध्यापक डाक्टर खगेन्द्र लुइँटेल र व्यङ्ग्यकार लक्ष्मण गाम्नागे सदस्य रहनु भएको चयन समितिको आधारलाई अनुमोदन गर्दै भैरव पुरस्कार गुठीले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो । 

पाँडेको पहिलो हास्यव्यंग्य निबन्ध ‘म आग्लो भएँ’ २०१८ सालमा प्रकाशित भएको थियो । प्राध्यापन पेशामा संलग्न पाँडेका ‘सञ्चै छ?’, ‘खप्पर’, ‘रसरङ्गी’, ‘तालबेताल’, ‘१०१ हास्यव्यंग्य’ लगायत कृति प्रकाशित छन् ।

२०३७ सालमा रिलिज भएको ‘बासुदेव’मा सानो भूमिका गर्दै दृश्य अभिनयमा होमिनुभएका राजाराम पौडेलले तीन सय ज्यादा फिल्म तथा टेलिफिल्ममा अभिनय गर्नुभएकाे छ । 

अहिले कोभिड-१९ को सङ्क्रमण रहेकाले उपयुक्त अवस्था हेरेर पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिनुभयो । २०४६ साल देखि प्रत्येक २-२ वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकोमा अब आउँदाे वर्षबाट वर्षेनि वितरण गरिने पनि रिजालले बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.