तलब नपाएपछि शिक्षक आन्दोलित - pharaksandesh.com

मुख्य समाचार


Monday, 30 November 2020

तलब नपाएपछि शिक्षक आन्दोलित


बैतडी, १५ मङ्सिर :
लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् ।

निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र तलब निकासा गर्न माग गरिएको समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले जानकारी दिनुभयो ।

विसं २०७६ चैतदेखिको तलब निकासा हुनुपर्ने, सिगास स्वयंसेवक शिक्षक कार्यविधि, २०७५ लागू हुनुपर्ने, दशैँ भत्ता, पोसाक भत्तालगायतका सुविधा आफूहरुलाई पनि उपलब्ध गराउनुपर्ने, श्रम ऐनअनुसार तलब भत्ताको व्यवस्था गर्नुपर्ने र शिक्षक सिकाइ अनुदान कोटामा कार्यरत शिक्षकको तलबभत्ता निकास गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

गाउँपालिकाले २४ घण्टाभित्र आफूहरुका मागका विषयमा सुनुवाइ नगरे आन्दोलनमा जाने समितिले चेतावनीसमेत दिएको छ । पटकपटक तलबभत्ताका विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराउँदासमेत केही चासो नदिएको भन्दै शिक्षक रुष्ट भएका छन् ।

सिगास गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा १९१ निजी स्रोतका शिक्षक कार्यरत छन् । कोरोना भाइरसको महामारीका बीच पनि तलब निकासा नहुँदा साह्र्र्रै समस्या भएको उनीहरुले बताएका छन् । उता गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले राजस्व बाँटफाँड शीर्षकमा रकम निकासा नभएकाले निजी स्रोतका शिक्षकलाई तलब खुवाउन नसकिएको बताउनुभयो ।-

निजी स्रोतका शिक्षकलाई तलब खुवाउनका लागि सोही शीर्षकबाट तलब दिने गरेकाले रकम निकासा नहुँदा समस्या भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “शिक्षक साथीहरुले मसँग पनि गुनासो गर्नुभएको थियो । एक चौमासिक भए पनि तलब खुवाउने तयारी गरेका थियौँ तर राजस्व बाँटफाँड शीर्षकमा बजेट निकासा कम हुँदा खुवाउन सकेनौँ ।”

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.