एचआइभी र एड्स के हो? - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 1 December 2020

एचआइभी र एड्स के हो?


काठमाडाैँ, १६ मङ्सिर :
एचआइभी एक प्रकारको भाइरस हो। यही भाइरसले शरीरमा पार्ने गम्भीर प्रभावको अवस्था नै एड्स हो।

यो अवस्थामा अरु सामान्य रोगले पनि मानिसको शरीरलाई निकै गलाउँछ।

एचआइभी संक्रमित व्यक्ति एड्सको अवस्थामा पुग्न दसौं वर्ष लाग्छ। समयमै पहिचान भई उपचार भए एड्सको अवस्था आउँदैन। एचआइभी संक्रमणका कारण शरीरको रोगसँग लड्ने फेलुलर इम्युनिटी (सिडी कोषिका) ह्रास गराउँदछ। यसको संख्या ५ सयदेखि १ हजार ५ सयहाराहारी हुन्छ।

यो संक्रमण भएको आठदेखि १० वर्षपछि सिडी४ कोषिका २ सयभन्दा कम भएको अवस्थामा एड्सका लक्षण देखिन थाल्छन्।

यी कोषिकाले हाम्रो शरीरमा रोगसँग लड्ने एक किसिमको शक्तिका रूपमा काम गर्दछ।

यो कम भएको अवस्थामा टिभी, पिसिपी निमोनिया, क्रिप्टोकोकल मेनिन्जाइटिस, क्रोनिक डाइरिया, मुख, घाँटी तथा आन्द्रामा क्यान्डिडा (ढुसी) को संक्रमण, लामो समयसम्म पखाला लाग्ने, शरीरको तौल घट्दै जाने, महिनौं दिनसम्म ज्वरो आउने, साह्रो किसिमका अन्य ब्याक्टेरियाको निमोनिया, सेप्टिसिनिया हुने र विभिन्न किसिमका सोलिड क्यान्सर, रक्तकोषिका क्यान्सर देखिन्छन्।

कुनै व्यक्तिलाई एचआइभी संक्रमण भइसकेपछि त्यसका कारणले एड्सको अवस्थामा पुग्न १०औं वर्ष लाग्नसक्छ।

यसबीच मानिस बिनालक्षणको हुने गर्छ। मानिस स्वस्थ देखिन्छ। यस अवधिमा विवाह गर्न सक्छ, अन्य पार्टनरलाई एचआइभी संक्रमण गराउन सक्छ। रूपरङ हेरेर एचआइभी छ कि छैन थाहा हुँदैन।

जबसम्म रगत परीक्षण गराउँदैनौं, तबसम्म एचआइभी छ कि छैन थाहा हुँदैन। विशेष गरेर जोखिमपूर्ण व्यवहार भएका व्यक्ति (असुरक्षित यौनसम्पर्क गर्ने व्यक्ति,

इन्जेक्सनमार्फत लागूऔषध लिने व्यक्ति) ले एचआइभी संक्रमणको जाँच समयमै गराउनुपर्छ।
एचआइभी सर्ने माध्यम
— असुरक्षित यौनसम्पर्क
— एचआइभी संक्रमित रगत, रगतबाट बनेका पदार्थ तथा अंग लिँदा
— सुईको साझा प्रयोग
— संक्रमित आमाबाट बच्चामा

बच्ने उपाय
— सुरक्षित यौन व्यवहार अपनाउने
— सधैं सही तरिकाले कन्डम प्रयोग गरी यौनसम्पर्क राख्ने
— यौनरोगका लक्षण देखापरे तुरुन्त उपचार गर्ने
— आफ्नो यौनसाथीलाई पनि उपचार गराउने
— रगत दिँदा संक्रमण भए–नभएको पक्का गर्ने
— आफूमा एचआइभी संक्रमण छ कि छैन भनेर प्रत्येक आमाले एचआइभी परीक्षण गराउने
— सकेसम्म लागूऔषध प्रयोग नगर्ने

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.