काठमाडौँ, २८ मङ्सिर : कोभिड–१९ सङ्क्रमणका कारण अति प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सहकार्य गरेका छन् । जीवनयापन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना घोषणा गर्दै रोजगारी गुमाएका पर्यटन मजदुरका लागि अल्पकालीन रोजगारी उपलब्ध गराउन दुवै संस्थाले सम्झौता पनि गरेका छन् ।
२४ करोड रुपियाँभन्दा केही बढी लगानीसहितको उक्त परियोजनाले खासगरी प्रभावित समुदाय, महिला र पर्यटनमै पूर्ण आश्रित समूहलाई रोजगारी दिने लक्ष्य राखेको छ । सम्झौतामा बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मी र यूएनडीपीका आवासीय प्रतिनिधि आयसेनी मेडाङ्गोडा लाबेले हस्ताक्षर गर्नुभएको छ । यो परियोजनाले कम्तीमा एक हजार छ सयलाई रोजगारी दिने लक्ष्य राखेको छ ।
निर्माण, पदमार्ग, पर्यटन सूचना केन्द्र, फोहोर व्यवस्थापन प्रणालीजस्ता साना किसिमका पर्यटकीय पूर्वाधारको सुधारजस्ता काममा यो रकम प्रयोग हुने उल्लेख छ । पर्यटन क्षेत्रको तीव्र पुनरुत्थानका लागि यो सहकार्यले अवसर सिर्जना गर्ने रेग्मीले बताउनुभयो । दुवै संस्थाको संयुक्त लगानी रहने यो परियोजना साढे दुई वर्षसम्म सञ्चालन हुनेछ ।
परियोजनाले दीर्घकालीन रोजगारी सिर्जना गर्दै जीवनयापन सरल बनाउन पर्यटन क्षेत्रको दीर्घकालीन पुनरुत्थानमा समेत सहयोग पु¥याउने विश्वास गरिएको छ । खासगरी निजी क्षेत्रको सहकार्यमा क्षमता विकास, पर्यटनमा आधारित व्यवसायलाई सहयोग र पर्यटन क्षेत्रसँग सम्बन्धित सूचना तथा तथ्याङ्क व्यवस्थापनमा पनि परियोजना सहयोगी बन्ने अपेक्षा छ ।
No comments:
Post a Comment