राजविराज, ५ पुस : सप्तरीसहित तराईका जिल्लामा अत्यधिक चिसो बढेको छ । चिसोसँगै चिसोमा बिक्री हुने भेडीको कम्बलले भेडीहरको जीवन भने न्यानो हुन थालेको छ । अर्थात् चिसो बढेसँगै सप्तरीसहित तराईका जिल्लामा भेडी कम्बलको घुम्ती व्यापार बढेको छ । चिसो, गर्मी र वर्षा तीनवटै मौसममा प्रयोग गरिने भेडाको ऊनबाट बनाएको कम्बलको खरिद बिक्री जाडोमा अलि बढी हुने गर्दछ । जाडोयाममा न्यानोका लगि ओछ्याउन, ओढ्न सकिने हुँदा यसको व्यापार बढेको हो ।खासगरी गडेरी जातका समुदायले भेडापालन गरेर त्यसको ऊनबाट विभिन्न आकार प्रकार, रङका कम्बल बनाएर बेच्ने गर्दछन् । उनीहरूको जीवन निर्वाह पनि यसैमा आश्रित रहेको छ । भेडाको कम्बल बेचेर घरपरिवारको गर्जो टार्न, छोराछोरीलाई राम्रो शिक्षा दिलाउन र बचत रकमबाट सम्पत्ति जोड्न भ्याउने गरेको राकमकृपाल पालले बताउनुभयो । जाडो मौसममा सबभन्दा बढी कम्बल बिक्री हुने गरेको बताउँदै उहाँले यस सिजनमा चार÷पाँच लाखको कम्बल बिक्री गर्दै आएको बताउनुभयो ।
तयार गरिएको कम्बल खुद्रा र थोकमा पनि बिक्री गरेर राम्रो आम्दानी हुने गरेको अर्का भेडीहर वसन्त पालले भन्नुभयो, “हामीबाट अन्य व्यापारीले पनि खरिद गरी साइकलमा घुम्ती व्यापार गरी लाखौँ रुपियाँ आम्दानीसमेत गरिरहेका छन् । ” भेडापालक गडेरी किसानबाट खरिद गरी ल्याएको कम्बल खुद्रामा प्रतिकम्बल सामान्य चार हजारदेखि पाँच हजार रुपियाँसम्ममा बेच्ने गरेको घुम्ती साइकल व्यापारी भोला यादवले बताउनुभयो ।
एक दशकभन्दा बढी समयदेखि यसको व्यापार गर्दै आएको उहाँले औसतमा प्रत्येक दिन चार÷पाँचवटा कम्बल बिक्री भइरहेकाले आम्दानी पनि निकै भइरहेको बताउनुभयो । नयाँ पुस्तामा यस्तो कम्बलका बारेमा जानकारी नहुँदा किन्न हिच्किचाउने गरेको उहाँले पारखी तथा जानकार बाटो कुरेर बस्ने गरेको अनुभव सुनाउनुभयो ।
सिरहा जिल्ला घर भएका व्यापारी यादवले थोक मूल्यमा कम्बल खरिद गरी जाडो अवधिभर तराईका विभिन्न जिल्लामा साइकलमै घुम्ती व्यापार गरेको बताउनुभयो । बहुउपयोगी कम्बलको पारखी बूढापाकाले अहिले पनि सिरकभन्दा कम्बल नै मन पराउने गरेका कारण व्यापार जीवित रहेको उहाँको कथन छ ।
कपासबाट बनाएको सिरक तथा अन्य आधुनिक कम्बल (ब्लाङ्केट) नयाँ पुस्ताले मन पराए पनि बूढापाकाको कारण यसको बजार व्यवसाय अझै जीवित रहेको अर्को व्यापारी रोहन यादवले बताउनुभयो । यस्तो कम्बल सबभन्दा बढी न्यानो हुने, वर्षा र घाममा छाताजस्तै काम गर्ने, पूजापाठ गर्दा बस्नलाई यस्तै कम्बल प्रयोग भइरहेकाले बिक्री सन्तोषजनक रहेको बताउनुभयो ।
गडेरी जातले दूध, घिउसँगै मासुका लागि भेडापालन गर्दै आएका छन् । भेडाको दूध, घिउ खान र सामान्य औषधिका रूपमा समेत प्रयोग हुने गरेको उनीहरूको कथन छ । प्रचारप्रसारको अभावले औषधिजन्य पदार्थको प्रयोग कम मात्रामा भइरहेको बताउँछन् । एक भेडापालकसँगै दर्जनौँ व्यापारीको परिवारसमेत आश्रित रहेको हुँदा यसको उचित व्यवस्थापन भएमा अझै फस्टाउने निश्चित छ ।
No comments:
Post a Comment