काठमाडाैँ, २९ मङ्सिर : कोरोनाभाइरस सङ्क्रमित कसैमा केही पनि लक्षण हुँदैन र कोहीचाहिँ किन सिकिस्त बिरामी पर्छन् भन्ने अहिलेको महामारीको असाध्यै जटिल प्रश्न हो।
नेचर भन्ने जर्नलमा छापिएको एक अध्ययनअनुसार २,२०० जना सघन उपचार कक्षका बिरामीको अध्ययनबाट केही विशेष आनुवंशिक तत्व (जीन) ले त्यसको जवाफ दिन सक्छन्।
अनुवंशको प्रकृतिकै कारण कोही कोहीमा कोभिड-१९ का गम्भीर लक्षण देखा पर्छन्।
यो अध्ययनले रोग प्रतिरोधी शक्ति कहाँ बिग्रन्छ भन्नेबारे बताउँछ, त्यसकारण यसले नयाँ उपचार पत्ता लगाउन सहयोग गर्न सक्छ।
अनुवंश सम्बन्धी एक अध्ययनको नेतृत्व गरेका रोयल इन्फर्मरी इन एडिनबराका डा. केनेथ बेलीले भने, "खोप आए पनि कोभिडको उपचार भने खोजिरहनुपर्ने हुन्छ।"
"खोपले कोभिडका बिरामीको सङ्ख्या निकै घटाउनेछ तर डाक्टरहरूले आउँदा केही वर्षमा सघन कक्षमा कोभिडका बिरामीको उपचार गरिरहनुपर्ने जस्तो देखिन्छ। त्यसैले नयाँ उपचार पत्ता लगाउन अति आवश्यक छ।"
'आक्रोशित' कोषहरू
वैज्ञानिकहरूले यूकेका अस्पतालका सघन उपचार कक्षका २०० भन्दा बढी बिरामीका डीएनए अध्ययन गरेका थिए।
उनीहरूले हरेक व्यक्तिका जीन अध्ययन गरेका थिए। आनुवंशले नै हरेक जैविक प्रक्रियाका लागि आदेश दिने गर्छन् त्यसमा भाइरसविरुद्धको लडाइँ पनि पर्छ।
उनीहरूको आनुवंशमा निहित विभिन्न तत्वलाई स्वस्थ्य मानिसको डीएनएसँग तुलना गरिएको थियो। त्यसो गर्दा जीनमा एउटा नम्बर पत्ता लाग्यो - टीवाईके-२।
डा बेली भन्छन् "तपाईँको शारीरिक प्रणालीका कारण तपाईँका रोग प्रतिरोधी कोषहरूलाई बढ्ता आक्रोशित र बिरामी बनाउँछन्।"
तर जीन दोषयुक्त छ भने रोग प्रतिरोधी शक्तिले सामान्यभन्दा बढी काम गर्छ, जसले बिरामीको फोक्सोमा सङ्क्रमणको खतरा बढाइदिन्छ।
एक प्रकारको बाथ (र्युमटाइड आर्थ्राइटीस) हुँदा यस्ता सङ्क्रमणविरुद्ध 'ब्यारिसिटिनिब' जस्ता औषधि प्रयोग गरिन्छ।
डा बेली भन्छन्, "यसलाई नयाँ उपचारमा पनि प्रयोग गर्न सकिने सम्भावना देखाउँछ तर हामीले त्यो सम्भव हुन्छ कि हुन्न भन्ने पत्ता लगाउन ठूलो सङ्ख्यामा 'क्लिनिकल' परीक्षण गर्नुपर्ने हुन्छ।"
असाध्यै न्यून 'इन्टरफेरन'
डीपीपी-९ जीनमा पनि आनुवांशिक फरकपन पाइएको थियो जसले सङ्क्रमणमा भूमिका खेल्छ। ओएस जीनमा पनि फरकपन पाइएको थियो जसले भाइरसलाई सङ्ख्या बढाउनबाट रोक्छ।
सघन उपचार कक्षका बिरामीको आइएनएआर-२ जीनमा पनि फरकपन पाइएको थियो।
आइएनएआर-२ लाई इन्टरफेरोन भनिने भाइरस विरोधी तत्वसँग जोडेर हेरिन्छ जसले सङ्क्रमण भएको थाहा पाउने बित्तिकै शरीरमा रोग प्रतिरोधी क्रिया शुरू गर्छ।
थोरै मात्र इन्टरफेरन उत्पादन भयो भने त्यसले भाइरसलाई फाइदा हुन्छ सङ्ख्या धेरै बढ्छ र त्यसले गम्भीर बिरामी बनाएको हुनसक्छ।
हालै प्रकाशित दुई अध्ययनले पनि कोभिड बिरामीमा इन्टरफेरनको भूमिकालाई औँल्याएका थिए।
द रकफेलर विश्वविद्याय न्यू योर्कका प्रोफेसर जाँ लराँ कासानोभाले अध्ययन गरेका थिए। उनका अनुसार "अध्ययन गरिएका बिरामीमा १५ प्रतिशत गम्भीर बिरामीमा इन्टरफेरन समस्या थियो"।
इन्टरफेरन उपचारका रूपमा दिन पनि सकिन्छ तर विश्व स्वास्थ्य सङ्गठनको क्लिनिकल परीक्षणले अति गम्भीर बिरामीलाई त्यसले फाइदा नपुग्ने निस्कर्ष निकालेको थियो। तर प्रोफेसर कासानोभा भने कुनबेला दिने भन्ने कुरा महत्त्वपूर्ण छ भन्छन्।
उनी भन्छन्, "यदि सङ्क्रमणको पहिला दुई दिन तेस्रो वा चौथो दिन दिने हो भने इन्टरफेरनले काम गर्न सक्छ। किनभने यो औषधिले बिरामीले उत्पादन गर्न नसक्ने मोलिक्युल त्यो औषधिले उपलब्ध गराउँछ।"
कतिबेला समस्या हुन सक्छ
इम्पेरियल कलेज लण्डनका जीन विशेषज्ञ डा भानीसा सान्चो शिमिजु भन्छिन्, यो आनुवंशिक अध्ययनले कोभिडको भित्री कुराहरूबारे अहिलेसम्म थाहा नभएका कुरा बाहिर आएको छ।
उनले बीबीसी न्यूजलाई भनिन् यस्तो सूक्ष्म अध्ययनबाट बिरामीमा कुनबेला समस्या भयो भन्ने पत्ता लगाउन सहयोग गर्छ।
त्यसैका आधारमा औषधि विकास गर्न सकिने उनले बताइन्।
तर आनुवंशसम्बन्धी थुप्रै तथ्य पत्ता लगाउन बाँकी छ।
यो आनुवांशिक अध्ययन र अरू केही यस्तै अध्ययनले पनि क्रोमोजोम-३ मा रहेका केही जीनको समूह र गम्भीर लक्षणबीच सम्बन्ध रहेको देखाउँछ। तर त्यो कसरी त्यस्तो हुन पुग्छ भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन।
अब थप बिरामीलाई यो अनुसन्धानमा सहभागी हुन अनुरोध गरिने बताइएको छ।
डा बेलीले भने, "हामीलाई सबै बिरामीको हेर्नु छ तर हामी अल्पसङ्ख्यक जातीय समूहहरूको डीएनए हेर्न चाहिरहेका छौँ। जो अति गम्भीर बिरामीको सूचीमा तुलनात्मक रूपमा धेरै सङ्ख्यामा पाइएका छन्।"
उनले भने, "यो रोगको नयाँ उपचार पद्धति खोज्न अति आवश्यक छ। अर्को कुन उपचार परीक्षण गर्ने भन्ने निश्चित गर्नु अघि सही चुन्न सक्नुपर्छ। किनभने हामीसँग गल्ती गर्ने समय छैन।"(बीबीसीबाट)
No comments:
Post a Comment