एडीबीको टोलीद्वारा मेलम्ची अनुगमन : पानी पथान्तरण गर्ने तयारी - pharaksandesh.com

मुख्य समाचार


Monday 28 December 2020

एडीबीको टोलीद्वारा मेलम्ची अनुगमन : पानी पथान्तरण गर्ने तयारी


काठमाडौँ, १३ पुस :
मेलम्ची सुरुङमा पानी पथान्तरणका लागि गरिएको प्राविधिक अनुगमन सकिएको छ । मेलम्चीमा सुरुङ प्रवेशद्वारको जडान र फिनिसिङ गरिएपछि अनुगमन गरिएको थियो । आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूको अनुगमन गराएको हो । अनुगमनको सुझावअनुसार पानी पथान्तरणको काम अघि बढाइने भएको छ ।

एडीबीले चार जना विदेशी परामर्शदाता ल्याएर एक हप्तासम्म अनुगमन गराएको थियो । खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भन्नुभयो, “अनुगमनपछि प्रतिवेदन दिनेछन् । सोही प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न सक्ने वा नसक्ने हेरेर हामी अघि बढ्छौँ, पानी पथान्तरणको तयारीमा छौँ । ” उहाँका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो चरणमा सुरुङमा पानी पठाएर होल्ड गरिनेछ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी ल्याइनेछ ।

पुसको अन्तिम सातादेखि मेलम्ची खोलाको पानी सुरुङमा पथान्तरण गर्ने तयारी भएको छ तर एडीबीको अध्ययनको पूर्ण प्रतिवेदन पुस महिनाभित्र आउने मेलम्ची आयोजनाले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रिेतेशकुमार खत्री भन्नुहुन्छ, “एडीबीले गरेको अनुगमनको प्रारम्भिक प्रतिवेदन आएको छ । त्यसमा त्यस्तो सिरियस छैन तर पूर्ण प्रतिवेदन आउँदै छ । ” उहाँले अहिले सुधारका काम भइरहेको र जनवरीको पहिलो साता पूर्ण प्रतिवेदन आएपछि अघि बढ्ने जनाउनुभयो ।

गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान गरी पानी पथान्तरण गर्न लागिएको हो । पानी पथान्तरण गरिएको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउनेछ ।
आयोजनाले अहिले सुरुङ प्रवेशको चारवटा प्रवेशद्वारको फ्रेम परिवर्तन गरी जडान गरिरहेको छ । चारमध्ये सिन्धु र अम्बाथानको गेट जडान भइसकेको प्रवक्ता शाक्यले जानकारी दिनुभयो । ग्याल्थुमको गेटको फ्रेम जडान गरेपछि पानी पथान्तरण गर्न मिल्नेछ । सुन्दरीजलको गेट पानी पथान्तरण गर्दैगर्दा जडान गर्न सकिनेछ ।

सुरुङ फिनसिङको काम सकिएको छ । हेडवक्र्स निर्माणको काम भइरहेको छ । हाललाई अस्थायी डाइभर्सनबाट सुरुङमा पानी पथान्तरण गरिनेछ । हेडवक्र्स सम्पन्न गर्ने सम्झौता २०७७ माघसम्म छ । काम भइरहेकाले सम्झौता अवधिमै सकिने सम्भावना रहेको समितिले जनाएको छ ।

दोस्रो चरणको आयोजना अघि बढाइँदै
दोस्रो चरणको परियोजनाको प्रस्ताव र डिजाइन तयार भएको छ । यस वर्ष डिजाइनको स्टिमेट फाइनल गरी खरिद कार्य गर्ने योजना समितिको रहेको छ । सडक निर्माणका लागि छ करोड ५० लाख रुपियाँ मुआब्जा वितरण भइसकेको छ । छुटेको मुआब्जा पनि वितरणकै क्रममा छ ।

स्थानीय सडक, पुल, खानेपानीलगात विकास निर्माणका काममा स्थानीयवासीसँग सहमति भइसकेको समितिले जनाएको छ । वातावारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत हुन बाँकी छ । आयोजनाको लागत करिब २५ अर्ब रुपियाँ अनुमान गरिए पनि मुख्य लगानीकर्ताको टुङ्गो भने लागिसकेको छैन ।

मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने छ । दोस्रो चरणको परियोजना सम्पन्न भएपछि याङ्री र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याउँदा दैनिक ५१ करोड लिटर पानी आउनेछ । याङ्री र लार्के खोलाको पानी मेलम्चीको सुरुङ मार्गमा मिसाउन थप नौ किमी सुरुङ खन्नुपर्ने हुन्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.