विराटनगर, १ पुस : प्रदेशभरीको प्रयोगशाला निरीक्षण र नियमनसँगै गर्ने गरी विराटनगरमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण गरिने भएको छ ।
अत्याधुनिक र सुविधा सम्पन्न सो भवन निर्माणका लागि सेभ द चिल्ड्रेनको ग्लोबल फण्डले करिब ८ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । ८ कट्ठा जग्गामा बन्ने साढे ४ तलाको भवन मध्ये चौथो तलामा सञ्चालन गरिने मोलिकुलर ल्याब र उपकरणहरु प्रदेश सरकारले उपलब्ध गराउनेछ । सो भवन निर्माणका लागि ८ कट्ठा जग्गा स्नातकोत्तर क्याम्पस विराटनगरले उपलब्ध गराएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन र्राईले एक कार्यक्रम बीच सो भवनको शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रादेशिक संरचनाहरु निर्माण गर्ने कार्यले संघीयता कार्यान्वयनमा सघाउ पुग्ने बताउनुभयो । उहाँले प्रदेश सरकार संग साधनस्रोत अभाव भईरहेको बेला सेभ द चिल्ड्रेनको ग्लोबल फण्डले भवन निर्माणमा सहयोग गरेको र स्नातकोत्तर क्याम्पसले जग्गा उपलब्ध गराएकोमा उत्साहित भएको बताउनुभयो ।
सेभ द चिल्ड्रेनको ग्लोबल फण्डले यस आर्थिक वर्षा प्रदेश नं. १ र लुम्बिनी प्रदेशलाई जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माणका लागि ८/८ करोड सहयोग गरेको छ । प्रयोगशाला रिपोर्ट गुणस्तरयुक्त नभए रोगको निदान हुन नसक्ने भएकाले प्रयोगशाला भवन निर्माणका लागि सहयोग गरेको सेभ द चिल्ड्रेनका हरिबोल बजगाईले बताउनुभयो ।
No comments:
Post a Comment